संसद अधिवेशन चाँडै : कानूनमन्त्री
कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले चाँडै संघीय संसद अधिवेशन बोलाउने तयारी भइरहेको बताएकी छन्।
शुक्रबारदेखि काठमाडौंमा शुरू भएको संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रममा उनले संसद सचिवालयले संसद बैठक सञ्चालनका लागि तयारी गरिरहेको र चाँडै नियमित बैठक शुरू हुने बताएकी हुन्।
तयारी गर्दा स्वास्थ्यका मापदण्डलाई पूर्णता कार्यान्वयन गर्ने गरी हुनुपर्ने उनको भनाइ छ। मन्त्री तुम्बाहाङफेले समाजमा देखिएको महिला र पुरुषबीचको विभेद संसदीय अभ्यासमा देखिन नहुने बताउँदै संसदले गरेको कार्य प्रगतिको पनि समीक्षा गर्नुपर्ने बताइन्।
“संसदले अहिलेसम्म गरेको कार्यमा कति प्रगति भयो भनेर समीक्षा गर्नुपर्छ”, उनले भनिन्, “व्यवहार परिवर्तको विषयमा पनि ध्यान दिनुपर्छ, ऐनमा भएका विषयलाई अभ्यासमा ल्याउन प्राथमिकता दिनुपर्छ।”
संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा चलिरहेको छ। संघीय संसद सचिवालयको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संयुक्त रूपमा उद्घाटन गरेका छन्।