मोदीलाई प्रधानमन्त्री ओलीको सन्देशः सीमा समस्या वार्ताबाटै हल गरौं
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवाद लगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएका छन्।
दुई दिने नेपालमा भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलामार्फत् प्रधानमन्त्री ओलीले सीमा विवाद लगायत नेपाल–भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट हल गर्नुपर्ने सन्देश पठाएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए।
बिहीबार साँझ बालुवाटारमा भएको भेटमा विदेशसचिव श्रृंगलाले नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउनका लागि भारत सकारात्मक रहेको र समस्याहरूलाई वार्ताको माध्यमबाट सामाधान गर्न चाहेको मोदीको सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए। जवाफमा प्रधानमन्त्री ओलीले आफूहरूले पनि वार्ताकै माध्यमबाट समस्या समाधान गर्न चाहेको बताएका हुन्।\
भारतीय विदेश सचिवले दुई देशका बीचमा समस्याहरूलाई वार्ताद्वारा समाधान गर्न चाहन्छौं भन्ने भारतीय प्रधानमन्त्रीको सन्देश सुनाएका थिए। प्रधानमन्त्री ओलीले पनि नेपाल–भारत सम्बन्धलाई अत्यन्त महत्व दिने र यो सम्बन्धलाई राम्रो बनाउन चाहेको बताए।
“हामीसित रहेका केही समस्याहरू छन् तिनिहरूको समस्या संवादको माध्यमबाट गर्नुपर्छ। सीमा लगायतका सबै विषयहरूलाई दुईपक्षीय संवादका माध्यमबाट हल गरौं। समस्याहरूलाई थाति राखेर होइन, तिनिहरूको समाधान गर्दै अगाडि जाँदा नै नेपाल–भारत सम्बन्धले नयाँ उचाई प्राप्त गर्दछ’’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सल्लाहकार भट्टराईले भने।
प्रधानमन्त्री ओलीले दुईपक्षीय भ्रमणहरूले वार्ताको वातावरण बनाउन सकारात्मक भूमिका खेल्ने पनि बताए। नेपाल शुरूबाट नै वार्ताको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘‘हामी शुरूदेखि वार्ताको पक्षमा रहेका छौं र अहिले पनि हाम्रो मान्यता वार्ताको माध्यमबाट हाम्रा समस्या समाधान गरौं भन्ने हो। यद्यपि, यी समस्याहरू हामी सरकारमा आइसकेपछि उत्पन्न भएका समस्याहरू होइनन्।’’
वार्ताका लागि विभिन्न संयन्त्रहरू निर्माण भएपनि बैठक बस्न सकेका छैनन्। प्रधानमन्त्री र विदेशसचिवको शिष्टाचार भेटमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीका सल्लाहकार भट्टराईले बताए। यद्यपि, मिति भने टुंगिएको छैन।