वागमतीको बगरमा फस्टायो बेसार खेती
सर्लाही र रौतहटको सीमा नदीको रूपमा रहेको वागमतीको बगरमा बेसार खेती फस्टाएको छ। बगरको बलौटे माटोमा उपयुक्त हावापानी पाएपछि बेसार खेती सप्रिएको हो।
यस वर्ष वर्षाको समयमा औसतभन्दा बढी पानी परेकोले उखु, परवल, सक्खरखण्ड र बदाम खेती खासै नफस्टाएको तर, बेसार खेती भने औसतभन्दा राम्रो भएको रौतहटको गढीमाई नगरपालिका–७ का राजिन्दर साहले बताए।
वागमती नदीको पूर्व सर्लाही र पश्चिम रौतहटका विभिन्न क्षेत्रका किसानले बगरमा बेसार खेती गर्दै आएका छन्। सर्लाहीको धनकौल र रामनगर गाउँपालिका तथा रौतहटको गढीमाई र माधवनारायण नगरपालिकाका किसानले बगरमा गरेको बेसार खेती फस्टाएको हो। सर्लाहीको वागमती, बरहथवा तथा रौतहटको वृन्दावन नगरपालिका किसानले बगर र आसपासमा लगाएको बेसार औसत वर्षभन्दा राम्रो देखिएको छ।
रौतहटको गढीमाई नगरपालिका–२ का कामेश्वर सहनीले दाजुभाइ मिलेर आफूले डेढ बिघाभन्दा बढी बेसार खेती गरेको बताउँदै गाउँका किसानले पचासौं बिघाभन्दा बढीमा बेसार खेती गरेको बताए। किसानको लागि नगदे बालीको रूपमा बेसार खेती देखिएकोले आकर्षण बढेको सहनीको भनाइ छ।
कोरोना महामारीको समयमा बेसारको बारेमा धेरै चर्चा भएकोले सामान्य बजारमा गत वर्षको तुलनामा बेसारको भाउ पनि केही बढेको छ। यस वर्ष किसानले खेतमा लगाएको बेसार खन्ने समय आउन थालेकोले राम्रो मूल्य पाउनेमा किसानहरू आशावादी देखिएका छन्।
उत्पादन पनि राम्रो हुने देखिएको र बजार भाउ पनि राम्रो भएकोले किसानहरूमा बेसार खेतीप्रति सकारात्मक आशा देखिएको सर्लाहीको धनकौल गाउँपालिकाका मुकेश यादवको भनाइ छ। उनी भन्छन्, “बेसारमा औषधीय गुण भएको किसानहरूले पनि बुझेको र कोरोनाको समयमा विभिन्न मिडियामा पनि आएकोले यस वर्ष किसानलाई लाभ हुने देखिन्छ।”
तर, भारतीय बेसारसित प्रतिस्पर्धा हुने हो कि भन्ने डर किसानलाई रहेको सहनी बताउँछन्। बजारमा भारतबाट काँचो बेसार आएन भने नेपालका किसानले बेसार खेतीबाट राम्रो फाइदा लिनेमा उनी आशावादी देखिएका छन्।