पर्यटन उद्यमीको संघर्ष र सपना
पर्यटन व्यवसायी र कलाकार राजन सिम्खडाको पहिलो पुस्तक हो, 'हिंडे पुगिन्छ'। संस्मरणात्मक शैलीमा लेखिएको पुस्तकमार्फत लेखकले आफ्नो संघर्ष, सफलता र सपनाका कुरा साझा गरेका छन्। विशेष गरेर पर्यटन र कलाकारिता क्षेत्रको अनुभव समेटिएको पुस्तकले मुलुकमा आर्थिक समृद्धिको संभावना पनि देखाउँछ।
पुस्तकलाई चार खण्डमा बाँडिएको छ– बालापन र जन्मेहुर्केको परिवेश, संघर्षमय दिन, सफलता र पर्यटनमार्फत देश विकासको योजना। शुरुआत भने पारिवारिक पृष्ठभूमिबाट गरिएको छ। लेखकले वंशावलीको इतिहास समेटेर आफ्नो पुर्खाप्रति सम्मान गरेका छन्। बालापन र त्यस क्रममा पाएको संस्कारको व्यक्तिगत प्रसंगबाट लेखकले पाठकसँग निकट सम्बन्ध जोड्न खोजेका छन्।
हिमालप्रतिको लगाव र कलाकारिता यात्रा सम्बन्धी लेखोटले पुस्तकलाई रोचक बनाएको छ। पुरानो समयको काठमाडौं र लेखकले घुमेका ठाउँको चित्रण कलात्मक ढंगले प्रस्तुत गरिएको छ। आफू गएको हरेक ठाउँको इतिहास पनि उनले समेटेका छन्, जसबाट उनको कुशल गाइडको क्षमता ठम्याउन सकिन्छ। मानसरोवर, लोमान्थाङ, घान्द्रुक आदि ठाउँहरुको शब्दचित्र सजीव लाग्छ।
पोर्टरदेखि गाइड हुँदै बहुव्यवसायीसम्मका यात्राका हरेक मोडमा पाठकलाई पनि सँगसँगै भएको अनुभूति दिलाउन लेखक सफल देखिन्छन्। लेखकका भोगाइ र जीवन संघर्षलाई नजिकैबाट नियालेको अनुभूति हुन्छ।
पुस्तकको केही भाग व्याख्यात्मक छ भने पर्यटन क्षेत्रको विषयमा भने विश्लेषणात्मक देखिन्छ। यसले लेखकको पर्यटनप्रतिको बुझाइ र लगाव प्रष्ट पार्छ। कृषि, शिक्षा, व्यवसाय लगायत क्षेत्रले पर्यटनमा पुर्याउन सक्ने योगदानको परिकल्पना प्रभावशाली छ।
रहरको काम र पेशाबीचको द्वन्द्व आम जीवनकै वास्तविकता हो। सिम्खडालाई पनि कलाकारिता र व्यवसायको द्वन्द्वले पिरोलेको रहेछ। कामको सिलसिलामा आउने द्विविधालाई साँचो मन र सुझबुझले चिरेर सफलता प्राप्त गर्न सकिने सूत्र पुस्तकले दिन्छ।
पुस्तकको केही भाग व्याख्यात्मक छ भने पर्यटन क्षेत्रको विषयमा भने विश्लेषणात्मक देखिन्छ। यसले लेखकको पर्यटनप्रतिको बुझाइ र लगाव प्रष्ट पार्छ। कृषि, शिक्षा, व्यवसाय लगायत क्षेत्रले पर्यटनमा पुर्याउन सक्ने योगदानको परिकल्पना प्रभावशाली छ। देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने लेखकले कसैमाथि दोष र आरोप नथोपरी मुलुकको समृद्धिका लागि आफ्नो क्षेत्रमा डटिरहने आकांक्षा राखेका छन्।
पुस्तकमा समेटिएका पर्यटन क्षेत्र विकास गर्ने योजनाहरु जुझारु छन्, जुन युवा पुस्ताका लागि प्रेरणादायी छन्। विदेशिएका लाखौं युवाका लागि पुस्तकले देशभित्रै असीम सम्भावनाका ढोका देखाइदिएको छ। पर्यटन क्षेत्रमा डटेर सफलता हासिल गरेको अनुभव बाँडेका उनले आजका युवाको अस्थिर चित्तलाई अर्जुनदृष्टिका साथ आफ्नो क्षेत्रमा केन्द्रित भएर अगाडि बढ्न प्रेरणा दिएका छन्।
भाषाशैली सरल/सुरुचिपूर्ण भएको पुस्तक मार्फत लेखकले पर्यटनबाट मुलुकलाई समृद्ध बनाउने योजना र युवा पलायन रोकेर देशभित्रै चलायमान हुने ऊर्जा त बाँडेका छन्। तर, संघर्ष र सफलताको उज्यालो बाँड्ने क्रममा आत्मस्वीकृतिको पाटो भने छुटाएका छन्। लेखकले अनुभव सुनाउँदै गर्दा आफूले गरेका कमजोरी, लिएका गलत निर्णय र तिनबाट आफूले सिकेका पाठ पनि समेट्न सकेको भए अझ मार्गदर्शन मिल्नेथियो।
समग्रमा पुस्तक निकै सकारात्मक र ऊर्जा प्रदायक छ। लेखकका हरेक शब्दमा देशको मुहार फेर्ने इच्छाशक्ति चुलिएको छ। उनले देखाएका पर्यटकीय सम्भावना व्यावहारिक छन्। आवश्यकता छ त यसलाई कार्यान्वयन गर्ने सामूहिक प्रयत्नको। पुस्तकको नाम 'हिंडे पुगिन्छ' ले प्रयास गर्ने हो भने असम्भव केही छैन भने सर्वमान्य सूत्र दिएकै छ।
पर्यटनबाट मुलुकले पर्याप्त लाभ लिन नसकेको पाटो जगजाहेर छ। जबकि, हामीकहाँ समृद्धिको आधारशिला पर्यटन क्षेत्र नै भएको कुरा थेगो जस्तै बोलिने गरेको छ। हामीले नजिकको तीर्थ हेला भने झैं हाम्रा प्राकृतिक सम्पदाको पहिचान गर्न सकेका छैनौं, पहिचान गरे पनि सदुपयोग गर्न सकेका छैनौं। भएका स्रोत-साधनको बढीभन्दा बढी उपयोग गरेर पर्यटन मार्फत मुलुक समृद्ध बनाउन 'भिजन' आवश्यक छ। त्यो सम्भावनाको बाटो सिम्खडाको पुस्तकले देखाएको छ।
विकास भनेको कंक्रिटको शहर मात्र होइन, पर्यटन भनेको विशाल पार्कहरु मात्र होइनन्। छुटेका र उपेक्षामा परेका तमाम विषय र क्षेत्रलाई समेटेर अगाडि बढे मुलुकले पर्यटनबाटै काँचुली फेर्न सक्ने आधार लेखकले पस्किएका छन्। सैद्धान्तिक विषय व्यवहारमा अगाडि नबढाउँदासम्म असहज, असम्भव र अप्राप्य हुने हो। हिंड्दै नहिंडी गन्तव्यको सपनामा निदाएकाहरुको संसार अँध्यारो हुन्छ। 'हिंडे पुगिन्छ' त्यही जीवनदर्शन हो, जसले कर्मयोग, संघर्ष र सफलताको उज्यालोमा पस्ने कुञ्जी दिन्छ।