सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन शुरु हुँदै
सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोकमा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शुक्रबारदेखि शुरु हुँदैछ। शुरुमा जुगल गाउँपालिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यान्वयन इकाई सिन्धुपाल्चोकका प्रमुख इञ्जिनियर सन्तोष निरौलाले जानकारी दिए।
गएको ३० साउनमा ३९ जनाको ज्यान जाने गरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी र सो स्थानबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायत स्थानहरुको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले शुक्रबारदेखि काम शुरु गर्न लागेको उनले बताए।
सिन्धुपाल्चोकमा यस वर्ष लगातारको विपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक पहल लिने विषयमा समन्वय गरेका थिए। उनले सङ्घ र जिल्लामा फरक-फरक बैठक आयोजना गरी सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन र विस्थापित बस्तीको पुनःनिर्माणका लागि पहल गरेका थिए।
सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन गर्न जाने टोलीले शुरुमा जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलगायत सँग चौतारामा छलफल गर्ने र त्यसपछि जुगल गाउँपालिकामा बैठक गर्ने बताइएको छ। टोलीका अनुसार, जिल्लाको पहिरोग्रस्त क्षेत्र बाह्रबीसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको समेत क्रमशः अध्ययन हुनेछ।