‘हाम्रो टीममा व्यावसायिक व्यक्तिहरू भएकाले चुनाव जित्छौं’
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ५४औं वार्षिक साधारणसभा मार्फत नयाँ नेतृत्व समेत चयन गर्दैछ। १३ मंसीरमा महासंघको चुनावमा नयाँ नेतृत्वका लागि दुई वटा टीम प्रतिस्पर्धा गर्दैछन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने निश्चित छ। वरिष्ठ उपाध्यक्ष पदका लागि व्यावसायिक घराना आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल चुनावी मैदानमा छन् भने अर्को प्यानलको नेतृत्व किशोर प्रधानले गरेका छन्। महासंघको आसन्न चुनाव र कोरोनाभाइरस संक्रमण महामारीपछि निजी क्षेत्रको अवस्थाबारे ढकालसँग गरिएको कुराकानीको सारसंक्षेपः
कोरोना संक्रमण महामारीले उद्योग–व्यवसाय चौपट भएको छ, यो बेला व्यवसायको पुनरुत्थानमा लाग्नुपर्नेमा महासंघ राजनीतिमा किन होमियो?
इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षति भोग्न हामी बाध्य भएका छौं। महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र थलिएको छ। महामारी अझै नियन्त्रणमा नआएकाले यसबाट क्षति कति गहिरिने हो, स्पष्ट भन्न सकिने अवस्था छैन। त्यसै कारण यो सङ्कटसँग जुध्न पनि हामीलाई बलियो र सशक्त नेतृत्व चाहिएको हो। कुनै पनि क्षेत्रका लागि यस्तै संकटकै बेला बलियो नेतृत्व चाहिने हो। नेतृत्व संकटको सारथि हो भनेर हामी बेलाबेला भन्ने पनि गर्छौं। हो, हामी त्यही सारथिको काम गर्ने जिम्मेवारीका निम्ति महासंघको चुनावमा जान खोजेका हौं।
महामारीसँग जुध्ने संकटको सारथि बनेर महासंघलाई अगाडि बढाउनु चुनौतीपूर्ण देखिन्छ। यसमा कति तयार हुनुहुन्छ ?
म यो संकटको सारथि नै भएर काम गर्छु। यो बेला समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ हामी लाग्नुपर्ने अवस्था छ। नेतृत्वमा पुगेपछि मेरो प्रयास पनि निजी क्षेत्रको अपेक्षा अनुसार काम गर्नेमै हुनेछ। महामारीले हामीमाथि थपेको चुनौतीको सामना गर्दै देशको उद्योग–व्यवसाय क्षेत्रमा सिर्जित समस्या समाधान गर्न र यो क्षेत्रलाई राहत प्रदान गर्न हामीसँग कार्ययोजनाहरु छन्। हामीले ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा बनाएर सार्वजनिक पनि गरेका छौं, हामी त्यसै मार्फत अगाडि बढ्छौं।
१० वर्ष महासंघमा बसेर काम गरिसक्नुभएको छ, यस अवधिलाई कसरी आत्मसमीक्षा गर्नुहुन्छ ?
मैले गरेका कामबारे आफैंले भन्नुभन्दा पनि अग्रजहरुबाट मूल्यांकन होस् भन्छु। म कार्यकारिणी समिति सदस्यमा पहिलो पटक आउँदा अध्यक्ष रहनुभएका सुरज वैद्यदेखि आजसम्म मैले संस्थाको लागि के दिन सकेँ र मुलुकको उद्योग व्यवसाय क्षेत्रका साथीहरूले मेरो भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ भन्ने नै मेरो संस्थागत सम्पत्ति र उपलब्धि हो। मलाई लाग्छ, संस्थाले दिएको उपलब्धि अब्बल दर्जामा रहेर पूरा गर्न सकें। १० वर्षसम्म गरेको काम अहिले पूरै स्मरण गर्न त नसकूँला, पछिल्लो उदाहरण भने रोजगारदाता परिषदको सभापतिका रूपमा न्यूनतम पारिश्रमिकको विषय समाधानलाई लिन सकिन्छ। बन्दाबन्दी अवधिको तलबमान निर्धारणका विषयमा म सो परिषदको सभापति भएकाले महासंघको प्रतिनिधित्व गर्नुपर्थ्यो, त्यो गरें। सरकार र मजदूर साथीहरुका प्रतिनिधिहरुसँग बसेर संवाद गर्नुपर्ने थियो, त्यो पनि गरियो। यसमा सरकारको निर्णयभन्दा एक कदम अगाडि सरेर मजदूर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउने काम मेरै समन्वयबाट भएको हो, जुन कुरा सञ्चारमाध्यममा आएको पनि छ। यसलाई सिङ्गो निजी क्षेत्रको नेतृत्व गर्न पाएको अवसरका रुपमा पनि मैले लिएको छु।
त्यस्तै, दुर्गमका जिल्ला र नगरदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत महासंघको उपस्थितिका लागि अहोरात्र खटेको छु। व्यवसाय क्षेत्रका लागि नीति निर्माण गर्ने तहमा निजी क्षेत्रको आवाज मुखरित गरेकै छु। महासंघको प्रादेशिक संरचना अनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य संघको पूर्वाधारको व्यवस्था लगायत जिल्ला नगरका हरेक विषय र जिल्लाका साथीहरूका गुनासा सुल्झाउने प्रयास गरेको छु। यी सबै कामको साक्षी महासंघका साथीहरू हुनुहुन्छ।
कोरोना महामारीले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र उकास्न सक्षम र सबल नेतृत्व चाहिन्छ। यसैका लागि हामी महासंघ नेतृत्वका लागि अगाडि बढेका हौं।
चुनावी आकलन कस्तो गर्नुभएको छ ?
उत्साहित छौं। हामी तीन वटै समूहमा लिड गर्दैछौं, यसैले १३ मंसीरको पर्खाइमा छौं। अहिलेसम्म जिल्ला, नगरका साथीहरूले ८० देखि ८५ प्रतिशत मतको आकलन गर्नुभएको छ भने वस्तुगत र एशोसिएटमा पनि हामी ८० प्रतिशतभन्दा माथि नै छौं। हाम्रो समूहको जित सुनिश्चित छ।
वरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
नेपाल उद्योग वाणिज्य महासंघ नेपालको समग्र उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व गर्ने आधा शताब्दीभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको छाता संस्था हो। निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा हो। तर, यसले अभिभावकको खाँचो परेको बेला राज्यबाट त्यो भूमिका प्राप्त गरेको छैन, र उचित सम्मान पाउन सकेको छैन। मेरो उम्मेदवारी त्यो सम्मान पाउने अवस्था बनाउनका लागि हो, राज्यबाट अभिभावकत्व पाउनका लागि हो। यसका लागि हामीले संवाद र संघर्ष दुवै गर्नुपर्ने हुनसक्छ। तर, म चाहिँसंवाद गरेर हाम्रा हक खोज्नुपर्छ भन्नेमा बढी विश्वास गर्छु। निजी क्षेत्रलाई राज्यले बोलीमा त देशको विकास र समृद्धिको ‘स्टेकहोल्डर’ ठानेको छ, त्यसलाई व्यवहारमै आत्मसात गर्न सक्ने बनाउनुपर्छ। यसका साथै, कोरोना महामारीले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र उकास्न पनि सक्षम र सबल नेतृत्व चाहिन्छ। यसैका लागि हामी महासंघ नेतृत्वका लागि अगाडि बढेका हौं।
तपाईं आफ्नो टीम भौगोलिक र व्यावसायिक रुपमा समावेशी छ भन्नुहुन्छ, यो टीमले जित्ने आधार के हो ?
व्यावसायिक होस् कि भौगोलिक वा अरु नै हिसाबले किन नहोस्, हाम्रो टिम बढी समावेशी छ र यसले व्यावसायिक र क्षेत्रगत सन्तुलन पनि समेटेको छ। उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना–मझौला लगायत सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टीममा छ। यो टीम नेपालको उद्योग व्यवसायको क्षेत्रको अनुभवले खारिएको छ। मसहित टीमका सबैमा यस क्षेत्रका लागि र यस मार्फत मुलुकका लागि केही गरौं भन्ने उत्साह छ। युवा जोशदेखि दशकौं लामो व्यावसायिक तथा चेम्बर आन्दोलनको अनुभवले भरिपूर्ण टीम हाम्रो मात्र छ।
यसैले हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिइङ वा नीतिगत विषयमा संवाद गर्न पनि यो टीम सक्षम छ। हाम्रो मान्यता के हो भने, महासंघमा रियल स्टेकहोल्डरले मात्र नेतृत्व गर्नुपर्छ। हाम्रो टीममा सानो व्यवसायदेखि ठूलो कर्पाेरेट तहमा व्यवसाय गरेकाहरूको प्रतिनिधित्व छ। राज्यले दिने सीआईपी सम्मान पाउने नै हामी चार जना पदाधिकारीका उम्मेदवारमध्ये दुई जना नै छौं। यसको अर्थ, हाम्रो टीममा व्यावसायिक व्यक्ति छन् र चुनाव पनि जितिन्छ।
राज्य र महासंघबीच हातेमालो कति आवश्यक छ ?
निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको सशक्त इञ्जिन पनि हो। मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनाको बढीभन्दा बढी लाभ लिन निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ। मैले यही महसूस गरेरै राज्य र निजी क्षेत्रबीच नै हातेमालो हुनु आवश्यक छ भन्ने गरेको छु। हामीले औद्योगिक र व्यावसायिक वातावरण बनाउन अझै थुप्रै काम गर्न बाँकी छ। ती के काम हुन् भनेर हामीले पहिचान गरिसकेका छौं, अजेण्डाका रूपमा अगाडि बढाएका पनि छौं। हामी नेतृत्वमा आउनासाथ ती क्षेत्रमा काम थाल्नेछौं। यसले सिङ्गो निजी क्षेत्रप्रतिको धारणा बदल्ने गरी काम गर्ने हाम्रो प्रयास रहनेछ। यसै कारण हामीले समृद्धिको आधार नै राज्य र निजी क्षेत्रको साझेदारी भनेर मूल नारा तय गरेका हौं।