कोरोना कहर छल्दै बालबालिकालाई खुवाइयो भिटामिन र जुकाको औषधि (तस्वीरहरू)
बिहीबार देशभरका ६ महीनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको छ।
बिहीबार छुटेकालाई शुक्रबार पनि भिटामिन ए र जुकाको औषधि खुवाइनेछ।
वैशाख (६–७ गते) र कात्तिक (२–३ गते) मा राष्ट्रिय भिटामिन कार्यक्रम हुँदै आएकोमा यो वर्ष कोरोना महामारीका कारण कार्यतालिका प्रभावित भएको छ।
वैशाखको कार्यक्रम असारमा सरेको थियो। २२–२३ असारमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको थियो।
यो पटक २७ लाख बालबालिकालाई भिटामिन ए, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई बालभिटा खुवाउने सरकारको लक्ष्य छ।
भिटामिन ए क्याप्सुल ६ महीनादेखि ५ वर्षसम्मका, जुकाको औषधि एक देखि ५ वर्षसम्मका तथा बालभिटा ६ महीनादेखि २३ महीनासम्मका बालबालिकालाई दिने गरिन्छ।
काठमाडौंमा उपत्यकामा कोरोनाका कारण महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूले पीपीई लगाएर यो कार्यक्रममा सहभागी भएका देखिन्थे। अन्य, स्वास्थ्य सुरक्षाका मापदण्ड पनि अपनाइएको थियो।
हेर्नुहोस् तस्वीरहरू: