प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्रीलाई भेट्न भारतीय विदेश सचिव श्रृंगला बिहीबार साँझ बालुवाटार पुगेका थिए।
बिहीबार नै नेपाल आएका उनी त्यसअघि दुई देशका सचिवस्तरीय वार्तामा सहभागी भएका थिए भने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए।
परराष्ट्रमन्त्रीसँगको भेटमा उनले भारतले नेपाललाई कोरोनाको भ्याक्सिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।
भारतीय विदेश सचिव श्रृंगलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।
उनले बिहीबार नै भारत सरकारका तर्फबाट नेपाललाई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरे।
भारतीय विदेश सचिव श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्। उनी शुक्रबार भारत फर्किनुअघि गोरखा र मनाङको भ्रमणमा जानेछन्।