भारतले नेपाललाई कोरोना भ्याक्सिन सहयोग गर्ने
भारतले नेपाललाई कोरोना भ्याक्सिन सहयोग गर्ने भएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाललाई कोरोना भ्याक्सिन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।
सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृंगलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।
सचिव श्रृंगलाले नेपाल-भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तोसुकै प्रतिकुल अवस्थामा पनि नबिग्रिएको दाबी गरे। कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उनले भने, ‘‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरूलाई सहयोग गर्दै आएको छ। कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आमरूपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो। हाम्रो दुईपक्षीय सम्बन्ध सम्भयतासँग जोडिएको छ। जस्तै प्रतिकुल अवस्थामा पनि यो बिग्रिएको छैन। कोरोना महामारीमा पनि हामीले छोडेनौं।’’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल-भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए। नेपाल–भारत सम्बन्ध ऐतिहासिक भएकाले दुई देशको सम्बन्धको जग बलियो रहेको उनले बताए। सचिव श्रृंगलाले बिहीबार सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्री ज्ञवालीसँग शिष्टाचार भेट गरेका हुन्।
यसैबीच, भेटपछि विदेश सचिव श्रृंगलाले भारत सरकारका तर्फबाट नेपाललाई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरे। विदेशसचिव श्रृंलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरेका छन्।
त्यसअघि बिहीबार नै नेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता भएको छ। वार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव श्रृंगलाले छलफलको राम्रो शुरूआत भएको प्रतिक्रिया दिए।
उनले दुई देशका बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताए। आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताए। भारतीय विदेश सचिव श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्।