छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन्।
तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताए।
योगदान गर्न सक्ने मात्र होइन, अलपत्र, गरीबीको चपेटामा परेका तथा प्राकृतिक हिसाबले वा आफन्त र अभिभावकका अभावमा अलपत्र परेका नागरिकको व्यवस्थापन गर्न संविधानमै विशेष व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधानले निर्दिष्ट गरेअनुसार सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याइएको बताए।
अर्को प्रसङ्गमा प्रधानमन्त्रीले अभिभावक गुमाएर सडकमा पुग्नुपरेको पीडा बालबालिकाले भोग्नु नपरोस् भनेर सरकारले अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आएको बताउँदै भने, “हिजो झैं आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव छन्, मानव समाजलाई सभ्य बनाउने बाटोमा सरकार अघि बढेको छ।”
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने गरी सरकार अघि बढेको पनि प्रधानमन्त्रीको भनाइ छ।
नेपाल दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्ने क्रममा रहेको जानकारी दिँदै उनले मुलुक छिट्टै अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा उक्लिने बताए। “नेपाललाई विकासशील राष्ट्रका रूपमा उभ्याउन हामीले दिगो विकास लक्ष्यका निर्धारित पक्षलाई कार्यान्वयन गर्नु जरुरी छ। हामी गत वर्षदेखि नै १४ वटा मापदण्डमाथि आइसकेका छौँ”, प्रधानमन्त्रीले भने, “अरु मापदण्डमा पनि हामी अगाडि आउँदै छौँ। विकासका सन्दर्भमा हामी अगाडि बढिरहेका छौँ।”
कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षाको सिद्धान्त, बीमाङ्कीय परामर्श तथा केही व्यावहारिक पक्षलाई ध्यानमा राखी कोषले आफ्नो योजना सञ्चालन कार्यविधि परिमार्जनमार्फत योगदानकर्ताबाट सुनिँदै आएको अधिकांश गुनासोलाई सम्वोधन गर्ने प्रयास गरिएको बताए।
बुधबारसम्म १२ हजार ९१५ रोजगारदाता र एक लाख ७९ हजार ७९१ योगदानकर्ता कोषमा सूचीकृत छन्। हालसम्म रू. तीन अर्ब १० करोड योगदान रकम सङ्कलन भएको छ भने कोषले रू. एक करोड ४७ लाख ५५ हजार ४५९ दाबी भुक्तानी गरेको छ।