कोरोनाले उड्डयन प्राधिकरणको आम्दानी ८० प्रतिशत खुम्चियो, ८ महीनामा ५ अर्ब गुम्यो
कोरोना कहरका कारण नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी ८० प्रतिशतले खुम्चिएको छ। कोभिड-१९ को जोखिम कम गर्न गरिएको बन्दाबन्दी र संसारभरले हवाई उडानमा लगाएको प्रतिबन्धका कारण नेपालको उड्डयन क्षेत्रमासमेत प्रभाव परेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कोभिडकै कारण प्राधिरकणको चैत २०७६ देखि कात्तिक २०७७ सम्ममा रू. ५ अर्ब १७ लाखले आम्दानी घटेको छ। यो समयमा प्राधिरकणले जम्मा रू. १ अर्ब १९ करोड ५८ लाख मात्रै आम्दानी गरेको थियो।
यस्तो आम्दानी अघिल्लो वर्ष चैत २०७५ देखि कात्तिक २०७७ सम्ममा ६ अर्ब १९ करोड ७५ रूपैयाँ थियो। प्राधिकरणले जहाजको ल्याण्डिङ, पार्किङ, पसल कबल, ठेक्कापट्टा, ग्राउण्ड ह्याडलिङ, ब्यांकमा राखेको पैसाको ब्याजबाट आम्दानी गर्ने गरेको छ।
यस्तो आम्दानीमा जहाज उडान अन्तर्गत एरोनटिकल आय ९२ प्रतिशत हुने गरेको छ। यो आय कोरोना कहरका कारण न्यून भएकोले पनि समग्र आम्दानीमै असर पुगेको क्षेत्री बताउँछन्।
जहाज उडान बाहेक विमानस्थल र प्राधिकरणको भौतिक संरचना भाडामा दिने र अन्य आम्दानीबाट हुने नन्एरोनटकिल आयको हिस्सा भने न्यून छ। यस्तो आयको हिस्सा जम्मा आठ प्रतिशत मात्रै भएकोले पनि एरोनटिकल आय घट्दा प्राधिकरणको समग्र आम्दानी नै घट्न पुगेको हो।
अन्तर्राष्ट्रियस्तरमा भने यस्तो आयमा एरोनटिकल ६० देखि ७० प्रतिशत हुने गरेको छ भने नन्एरोनटिकल आय ३० देखि ४० प्रतिशत हुने गर्छ। नेपाल भने आम्दानीको लागि हवाई उडानमा मात्रै भर पर्नुपर्ने अवस्था छ।
संरचना अभाव र सानो बजार हुँदा अन्य आम्दानीको दायरा बढ्न नसकेकोले पनि हवाई उडानबाट मात्रै हुने आयले प्राधिकरण धानिनुपर्ने बाध्यता रहेको प्रवक्ता क्षेत्रीले हिमालखबरलाई बताए।