कोरोनाभाइरसबाट पहिलोपटक एकै दिन १२ हजारभन्दा बढीको मृत्यु
कोरोनाभाइरसबाट विश्वमा एकै दिन बुधबार पहिलोपटक १२ हजारभन्दा बढीको मृत्यु भएको छ।
अमेरिका र युरोपमा कोरोनाभाइरसको दोस्रो लहर शुरु भएपछि संक्रमित र मृतकको संख्या बढिरहेको छ। बुधबार सबैभन्दा बढी अमेरिकामा दुई हजार २९९ जनाको मृत्यु भयो।
त्यस्तै मेक्सिकोमा ८१३ र इटालीमा ७२२ जनाको मृत्यु भएको छ। बेलायतमा पनि ६९६ जनाको मृत्यु भयो। युरोपमा पोल्याण्ड, रुस, जर्मनी, युक्रेन लगायत देशमा पनि मृतकको संख्या बढिरहेको छ। भारतमा बुधबार ५१८ जनाको मृत्यु भएको छ।
विश्वमा पहिलोपटक गएको ११ नोभेम्बरमा एकै दिन १० हजारभन्दा बढीको मृत्यु भएको थियो। उक्त दिन १० हजार १९१ जनाको मृत्यु भएको थियो। पहिलो लहरमा गएको १५ अप्रिलमा एकै दिन सबैभन्दा बढी आठ हजार २६३ जनाको मृत्यु भएको थियो।
युरोपका धेरै देशमा गएको अप्रिलमा दैनिक एक हजार आसपासमा संक्रमितहरुको मृत्यु भएको थियो। मे महीनाबाट मृत्युदर घट्दै गएको थियो। जुनदेखि अक्टोबर दोस्रो सातासम्म दैनिक मृत्युदर दोहोरो अंकमा सीमित थियो। जुनदेखि सेप्टेम्बरसम्म दैनिक ३० भन्दा कम संक्रमितको मात्र मृत्यु भएको थियो।