घरेलु मैदानमा लिभरपुलको अपराजित यात्रा ६५औँ खेलमा रोकियो
इङ्लिस क्लब लिभरपुलको घरेलु मैदानमा अपराजित यात्रा ६५औँ खेलमा तोडिएको छ। च्याम्पियन्स लिग अन्तर्गत समूह ‘डी’ को खेलमा एटलान्टाले लिभरपुललाई २-० ले पराजित गरेको छ।
सिरी ए क्लब एटलान्टाले चार मिनेटमा गरेको दुई गोलले सेप्टेम्बर २०१८ यता घरेलु मैदानमा लिभरपुल पहिलोपटक पराजित भयो। एटलान्टाका लागि जोसिप इलिकिक र रोबिन गोसेन्सले ६०औँ तथा ६४औँ मिनेटमा गोल गरे।
यो समूहमा लिभरपुल नौ अंकसहित शीर्षस्थानमा छ। एजाक्स र एटलान्टाको सात सात अंक भएको छ। जितसँगै एटलान्टाले अघिल्लो चरण प्रवेशको संभावनालाई कायम राखेको छ।
च्याम्पियन्स लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले ओलिम्पियाकोसलाई १-० गोलले पराजित गरेको छ। जितसँगै सिटी अर्को चरणमा प्रवेश गरेको छ।
च्याम्पियन्स लिगमा संकटमा परेको रियल मड्रिडले इन्टर मिलानलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गर्दै राहत लिएको छ। रियलका लागि सातौँ मिनेटमा नै इडेन हाजार्डले पेनाल्टीबाट गोल गरेका थिए। ५९औँ मिनेटमा इन्टरका अच्राफ हाकिमीले आफ्नै पोष्टमा गोल गरे।
जितपछि रियल सात अंकसहित दोस्रो स्थानमा पुगेको छ। अब दुई खेल खेल्न बाँकी हुँदा इन्टर मिलान भने २ अंकमा सिमित छ। तर, उसको पनि अघिल्लो चरणको संभावना भने कायम छ।