महान फूटबल खेलाडी माराडोनाको निधन
सर्वकालिक फूटबल खेलाडी डियगो माराडोनाको बुधबार निधन भएको छ । ६० वर्षीय माराडोनाको हृदयघातका कारण निधन भएको बताइएको छ ।
माराडोनाको मस्तिष्कमा रगत जमेको कारण नोभेम्बरको पहिलो साता मात्र शल्यक्रिया गरिएको थियो । सफल शल्यक्रियापछि उनी अत्यधिक मदिरा सेवनको लत छुटाउन उपचाररत थिए ।
माराडोना सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फूटबलको उपाधि जित्दा कप्तान थिए । इङल्याण्डविरुद्धको क्वाटरफाइनलमा उनले गरेको गोललाई आज पनि ‘ह्याण्ड अफ गड‘ भनिन्छ ।
अर्जेन्टिना फूटबल एशोसिएसनले माराडोनाको निधनको पुष्टि गर्दै माराडोना सधैंभरि जनताको हृदयमा जीवित रहेको बताएको छ ।
अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले शोक व्यक्त गर्दै माराडोनाले देशलाई सर्वोच्च उँचाइमा पुर्याउँदै अत्यधिक खुसी दिएको बताएका छन् ।
माराडोनाले सन् १९९४ मा अन्तिमपटक विश्वकप खेलेका थिए । अमेरिका विरुद्धको यो खेलमा उनलाई लागूऔषध प्रयोग गरेको आरोपमा स्वदेश फर्काइएको थियो ।
उनले सन् १९९७ मा ३७ वर्षको उमेरमा फूटबलबाट सन्न्यास लिएका थिए । चार विश्वकपमा अर्जेन्टिनाबाट खेलेका माराडोनाले कुल ९१ खेलमा ३४ गोल गरेका थिए ।
सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रशिक्षक रहेका माराडोना २०१० मा जर्मनीबाट आफ्नो देशको पराजयसँगै प्रशिक्षकबाट बाहिरिएका थिए ।
माराडोना आफ्नो जीवनकालमा ब्राजिलका अर्का सर्वकालिक खेलाडी पेलेको तुलनामा रहे । आजपर्यन्त विश्वका कैयौं फूटबल खेलाडीका लागि माराडोना प्रेरणाका रुपमा रहेका छन् ।