जग्गासम्बन्धी विवादका कारण दुई पक्षबीच झडप हुँदा रौतहटमा एक जनाको मृत्यु
कुटपिटबाट रौतहटमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गरुडा नगरपालिका ७ भीमडाबरका ५० वर्षीय फतिंगा ठाकुर रहेका छन्। जग्गासम्बन्धी विवादले दुई पक्षबीच झडपको रूप लिएपछि काठको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा मृत्यु भएको हो।
फतिंगा ठाकुरले भोगचलन गर्दै आएको जग्गालाई छिमेकी ५५ वर्षीय ज्ञानी ठाकुर, ४५ वर्षीय ध्यानी ठाकुर र ३५ वर्षीय नागेन्द्र ठाकुरले आफ्नो हो भनी दाबी गर्दै आएका थिए। आफन्त रहेका चारैजना बीच लामो समयदेखि जग्गाको विवाद रहेकोमा बुधवार विवादले उग्र रूप लिएको थियो।
विवादले झगडाको रुप लिएपछि फतिंगा ठाकुरमाथि तीन जनाले काठको चिर्पटले प्रहार गरेका थिए। प्रहारबाट गम्भीर घाइते भएका फतिंगा ठाकुरको उपचारको क्रममा गरुडास्थित सिटी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी रवि रावलका अनुसार मुख्य आरोपीमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ध्यानी ठाकुर रहेका छन्। झडपको क्रममा ध्यानी ठाकुरलाई पनि चोट लागेको छ। टाउकोमा चोट लागेका ठाकुरको प्रहरी हिरासतमै उपचार भइरहेको छ।
घटनापछि दुई जना फरार रहेका छन्। फरार दुई जनाको खोजी प्रहरीले गरिरहेको छ।
मृतक ठाकुरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। कुटपिटबाट सोमवार साँझ पनि रौतहटमा एक जनाको मृत्यु भएको थियो।