चिनियाँ राष्ट्रपति सी जिनपिंगले दिए अमेरिकी राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई बधाई
चिनियाँ राष्ट्रपति सी जिनपिंगले अमेरिकी राष्ट्रपति चुनावमा निर्वाचित जो बाइडेनलाई बधाई सन्देश पठाएका छन्। बाइडेन राष्ट्रपति पदमा निर्वाचित भए पनि पद सम्हाल्न केही समय बाँकी नै रहेको अवस्थामा विश्वभरबाट विभिन्न राष्ट्र र सरकार प्रमुखले बधाई दिइरहेका छन्।
सोही क्रममा चिनियाँ राष्ट्रपति सीले पनि बाइडेनलाई बधाई सन्देश पठाएको चीनको सरकारी समाचार संस्था पिपुल्स डेली चाइनाले उल्लेख गरेको छ।
बधाई सन्देशमा राष्ट्रपति सीले चीन र अमेरिकाका नागरिकले के चाहन्छन् भन्ने मुद्दालाई मात्रै नभएर सिंगो अन्तर्राष्ट्रिय समुदायले के चाहन्छ भन्ने विषयमा पनि दुई देशले ध्यान दिनुपर्ने बताएका छन्।
"हामीलाई आशा छ, दुवै पक्षबाट द्वन्द्व, टकरावलाई व्यवस्थापन गरेर आपसी सम्मानलाई कायम राख्दै, सहकार्य र सहयोगका आधारमा मतभेदहरूलाई व्यवस्थापन गरेर स्वस्थ सम्बन्ध कायम राख्नुपर्छ", सीले बधाई सन्देशमा भनेका छन्।