किसानबाट न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्दै सहकारी, साना किसान सहकारीले मात्र ९५ हजार मेट्रिक टन किन्ने
सहकारीहरूले न्यूनतम समर्थन मूल्यमा नै किसानको धान खरीद गर्ने भएका छन्। यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्न सहकारीहरूलाई परिचालन गरेपछि कृषकले उचित मूल्य पाउने आशा गर्न थालेका छन्।
विगत वर्षहरूदेखि सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्ने गरेको भएपनि कृषकहरु आफूले उत्पादन गरेको धानले बजार मूल्य नपाएर व्यापारीहरूलाई सस्तोमा बिक्री गर्नुपर्ने बाध्यतामा थिए।
यो वर्ष भने सहकारीमार्फत न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्न सरकारले ४ कात्तिक २०७७ मा स्वीकृति दिएको थियो। यस्तो स्वीकृतिका लागि सरकारले “न्यूनतम समर्थन मूल्यमा धान खरीद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, २०७७” स्वीकृत गरेको कृषि मन्त्रालयले जानकारी दिएको छ।
निर्देशिका अनुसार सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्ने सहकारीलाई सरकारले खरीद गरेको धानको भण्डारण, सुरक्षा र प्याकेजिङ लगायतका खर्च व्यवस्थापनका लागि प्रति क्वीण्टल रु. ११२ अनुदान दिने व्यवस्था गरेको छ। यसरी खरीद हुने धानको भण्डारण, प्रशोधन, एवम् बिक्रीको प्रबन्ध भने सम्बन्धित सहकारीले नै गर्नुपर्ने कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ।
न्यूनतम समर्थन मूल्यमा धान खरीद कार्यक्रम कार्यान्वयन एवम् व्यवस्थापन गर्न जिल्लास्तरमा जिल्ला कार्यान्वयन समिति र मार्गदर्शनको लागि केन्द्रीय स्तरमा निर्देशक समितिको व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ।
उत्पादक कृषकबाट धान खरीद भएको १५ दिनभित्र खरीदकर्ताले सम्बन्धित कृषकको ब्यांक खातामा रकम भुक्तानी दिनुपर्नेछ। सोको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको जिल्लास्थित परियोजना कार्यान्वयन इकाइमार्फत अनुदान बापतको एकमुष्ट रकम सम्बन्धित खरीदकर्ता सहकारीको बैंक खातामा भुक्तानी गरिने प्रबन्ध गरिएको छ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्न साना किसान सहकारी संस्था लगायत अन्य सहकारी संस्थाहरू सूचीकृत भइ धान उत्पादन हुने तराईका विभिन्न जिल्लाहरूमा खरीद प्रकृयामा संलग्न हुन थालेका छन्। ८ मंसीरसम्म नवलपरासी, रुपन्देही र बर्दिया जिल्लाका साना किसान कृषि सहकारीहरूले करीब ४ हजार १० मे.टन (नवलपरासी ५००, रुपन्देही ११३० र बर्दियामा २३८० मे.टन) धान खरीद गरिसकेका छन्।
देशभर साना किसान कृषि सहकारीहरूले ९५ हजार मेट्रिक टन धान खरीद गर्ने लक्ष्य राखेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करीब ४ हजार ८० मे.टन धान खरीद गरिसकेको छ।
सरकारको बाली लगाउनु पूर्व नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य तोक्ने नीति अनुसार २ असार २०७७ को मन्त्रिपरिषद्को बैठकले यस आर्थिक वर्षको लागि मोटो धानको प्रति क्वीण्टल रु.२,७३५ मध्यम धानको प्रति क्वीण्टल रु.२,८८५ न्यूनतम समर्थन मूल्य तोकेको थियो।