तीन महीनामा भित्रियो साढे दुई खर्बको रेमिटेन्स
विश्वव्यापी कोरोना कहरका कारण रेमिटेन्स आप्रवाह कम हुने अनुमान गरिएको भएपनि चालू आर्थिक वर्षको पहिलो तीन महीनामा भने गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो तीन महीनामा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउनदेखि असोजसम्ममा रु.२ खर्ब ५८ अर्ब ८६ करोडको रेमिट्यान्स भित्रिएको छ।
यो तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले बढी हो। अधिल्लो वर्षको सोही अवधिमा यस्तो रेमिट्यान्स आय ५.१ प्रतिशतले थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.६ प्रतिशतले बृद्धि भएको छ। जसका कारण रु.२ अर्ब १८ करोड अमेरिकी डलर रेमिट्यान्स आप्रवाहक हुँदा बढेको हो।
अघिल्लो वर्ष यस्तो रेमिटेन्स आय ४.७ प्रतिशतले घटेको थियो। असोज महीनामा दशैं परेका कारण उक्त महीनामा मात्रै रु.९३ अर्ब रेमिट्यान्स भित्रिएको छ। दशैंको महीनालाई रेमेट्यान्स आय राम्रो हुने समय मानिन्छ।
रेमिट्यान्स आय बढेको देखिए पनि चालू अबको पहिलो तीन महीनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको नेपालीको संख्या भने कोभिडका कारण ९६.८ प्रतिशतले घटेको छ।
राष्ट्र ब्यांकको तथ्यांक अनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारिक मुद्रास्फीती अर्थात महंगीको दर भने ३.७९ प्रतिशत रहेको छ। यो अवधिमा आयात १२.७ प्रतिशतले घटेको छ भने निर्यात १४.३ प्रतिशतले बढेको छ।