सिंहदरबारभित्र बनिरहेछ देशकै ठूलो भवन, दैनिक ४०० कामदारले बनाउँदैछन् संसद भवन (तस्वीरहरू)
सरकारले नेपालकै ठूलो भवनको परियोजना अन्तर्गत सिंहदरबारभित्र संघीय संसद भवन निर्माण गरिरहेको छ। संघीय संसदका दुवै सदन- प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरु, संसदीय दलका कार्यालय समेत रहने गरी १२ वटा ब्लकसहितको भव्य संरचना धमाधम निर्माण भइरहेको छ।
सरकारले २०७६ असोजमा गरेको सम्झौता अनुसार मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक रु.५ अर्ब ६ करोड खर्च गरेर नयाँ संसद भवन निर्माण गरिरहेको संघीय संसद भवन निर्माण आयोजना प्रमुख दिलीप भण्डारीले बताए। भण्डारीका अनुसार तीन वर्ष भित्र सक्ने गरी सम्झौता भएको यो भवन चिनियाँ ठेकेदार कम्पनीसँगको संयुक्त साझेदारीमा नेपाली कम्पनी टुँडी कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ।
भवन निर्माणमा भएको सम्झौता र तयारी अनुसार अहिलेसम्म ३० प्रतिशत भन्दा बढी भौतिक तथा वित्तीय प्रगति हुनुपर्ने भए पनि कोभिड महामारीका कारण १५ प्रतिशतले मात्र प्रगति भएको छ। यो आयोजनालाई कोभिडकै कारणले ६ महीना ढिलो गराएको थियाे। आयोजना निर्माण द्रूत गतिमा भइसक्नुपर्ने भए पनि कामदार खटाउन र ठेकेदार परिचालनमा पनि कोभिडले असर पुर्याएको छ।
सिंहदरबारको पुतली बगैँचाको १७३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको यो भवन बनाउन हाल दैनिक ४०० कामदार खटिएका छन्। दैनिक ७०० देखि ८०० कामदार खटिनुपर्ने भए पनि कोभिडको असर र चाडबाड भर्खरै सकिएकोले पूर्ण क्षमतामा कामले गति लिन सकेको छैन्। अब विस्तारै सामान्य अवस्था हुँदै गरेकोले कामदार बढाउने र भवन निर्माणमा पनि गति बढाएर निर्धारित समय, २०७९ असोजभित्रै सक्ने लक्ष्य लिइएको भण्डारी बताउँछन्।
हालसम्म निर्माण भएका विभिन्न भवनमध्ये संसद भवन देशकै ठूलो भवन निर्माण परियोजना हो। यो परियोजना सम्पन्न भएपछि संसदीय गतिविधिको एकीकृत भवन बन्नेछ। संसदको आफ्नो भवन नहुँदा हाल बानेश्वरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर प्रयोग भइरहेको छ।
तस्वीरहरू: