पर्यटकका रूपमा नेपाल आउने विदेशीलाई भिसा सम्बन्धी व्यवस्था खुकुलो बनाउने तयारी
सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरूका लागि भिसासम्बन्धी व्यवस्था केही खुकुलो बनाउने भएको छ। भिसा प्रकृयामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा आउनेहरूका लागि केही खुकुलो व्यवस्था बनाउने भएको हो।
विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरणसम्बन्धी काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत गराउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। विधेयकमाथिको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताए। आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न पर्यटन क्षेत्रले ठूलो सहयोग रहने भएकाले बढी भन्दा बढी पर्यटक भित्र्याउन यसले सहयोग गर्ने उनले बताए।
अध्यागमनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलका क्रममा रहेको छ। अध्यागमन सम्बन्धी विद्यमान कानून परिवर्तन गर्नुपर्ने विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानून संशोधन र एकीकरण गनए विधेयक ल्याएको हो।
नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ। विधेयक प्रचलनमा आएपछि विदेश जाने र विदेशबाट हुने नेपाली नागरिकको आगमनलाई पनि व्यवस्थित गर्नेछ।