सुदूपश्चिम प्रदेशको पहिलो चौमासिकमा दुई अर्ब नौ करोड बजेट खर्च
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा जम्मा दुई अर्ब नौ करोड ८६ लाख २६ हजार रुपैयाँ बजेट खर्च गरेको छ।
कार्तिक मसान्तसम्म चालुतर्फ एक अर्ब १० करोड ४७ लाख र पूजीगततर्फ ९९ करोड २८ लाख रुपैया गरी दुई अर्ब नै करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिए। जुन खर्च ६.२९ प्रतिशत हुन आउँछ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेट खर्च प्रगति ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको आर्थिक मामिला तथ योजना मन्त्री झपटबहादुर बोहराले बताए। चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको सरकारले ३३ अर्ब २८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो।
चालु आर्थिक बर्ष २०७७-०७८ को पहिलो चौमासिकसम्म खर्चलाई गत आर्थिक बर्ष २०७६-०७७ को सोही अवधिमा खर्चसँग तुलना गर्दा खर्च रकमको आधारमा ६४.४५ प्रतिशतले बृद्धि भएको मन्त्री बोहोराले बताए।
उनले चालु आर्थिक बर्षमा राजश्वको लक्ष्य ६७ करोड ७० लाख ३० हजार रहेकोमा आर्थिक बर्ष २०७७-०७८ को पहिलो चौमासिक अवधिसम्म ३१ करोड ९ लाख ६६ हजार राजश्व आम्दानी भएको पत्रकार सम्मेलनमा जानकारी दिए। जुन लक्ष्यको तुलनामा ४५.९३ प्रतिशत हुन आउँछ, जबकी २०७६-०७७ को सोही अवधिमा ३२.१२ प्रतिशत मात्र राजश्व संकलन भएको थियो।
मन्त्री बोहराका अनुसार कोभिड १९ को महामारीका कारण प्रदेशमा भएको बन्दाबन्दीका कारण विभिन्न समस्याका बाबजुद पनि करको दायरा बढाएको कारण राजस्व संकलनमा बृद्धि हुन पुगेको हो। यसरी आर्थिक बर्ष २०७६-०७७को चालु आर्थिक बर्षको समिक्षा अवधिमा १३.८१ प्रतिशतले बढी राजश्व संकलन गर्न सफल भएको मन्त्री बोहराले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश सभा सचिवालयको चालु आर्थिक बर्ष २०७७-०७८ को कुल बजेट १९ करोड १० लाख ६४ हजार मध्ये ३ करोड ७२ लाख ८२ हजार (१९.५१ प्रतिशत) खर्च भएको र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कुल बजेट १ अर्ब ७८ करोड ९२ लाख ७७ हजारबाट २ करोड ३० लाख १ हजार (१.२९ प्रतिशत) बजेट खर्च भएको मन्त्रालयले जनाएको छ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको कुल बजेट १ अर्ब ६४ करोड २४ लाख ३० हजारबाट १ करोड ३२ लाख ६५ हजार (०.८१ प्रतिशत), उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको कुल बजेट २ अर्ब ७८ करोड १० लाख ९ हजारबाट २० करोड ७२ लाख ६३ हजार(७.४५ प्रतिशत) खर्च भएको छ।
प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालु आर्थिक बर्ष २०७७-०७८ को कुल बजेट ३ अर्ब ३३ करोड ३१ लाख ३२ हजार मध्ये १४ करोड ३० लाख ८३ हजार (४.२९ प्रतिशत), आन्तरिक मामिला तथा कानून मन्त्रालयको कुल बजेट ४६ करोड ८६ लाख १ हजार मध्ये ४ करोड १६ लाख ५ हजार (८.८८ प्रतिशत) र भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल बजेट ११ अर्ब १० करोड ५३ लाख ३ हजार मध्ये ९१ करोड ५९ लाख ८५ हजार (८.२५ प्रतिशत) खर्च भएको जनाइएको छ।
यस्तै सामाजिक विकास मन्त्रालयको कुल विनियोजित बजेटमध्ये ६ अर्ब ६२ करोड ६६ लाख ६३ हजारबाट ५३ करोड ५४ लाख ६६ हजार (८.०८ प्रतिशत) खर्च भएको छ। प्रदेश सरकारको वित्तिय व्यवस्थाको लागि छुट्याएको कुल बजेट ३० करोड र अर्थ विविधको लागि छुट्याएको ३ अर्ब ८८ लाख ६९ हजारबाट खर्च शून्य रहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले वित्तिय हस्तान्तरण स्थानीय तहको लागि चालु आर्थिक बर्ष २०७७-०७८ मा कुल बजेट २ अर्ब १३ करोड ५० लाख छुटयाएको थियो जसमा १८ करोड १६ लाख ६७ हजार (८.५१ प्रतिशत) रुपैया खर्च भएको जनाएको छ।