झापामा सन्थाल जातिका लागि एकीकृत बस्ती बनाइने
सरकारले सन्थाल जातिको विकास गर्न एकीकृत बस्ती निर्माण गर्ने भएको छ। झापाको उर्लाबारी नगरपालिका–८ स्थित नदी किनारामा बस्दै आएका सन्थाल जातिको बस्ती अवलोकनपछि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सो क्षेत्रमा व्यवस्थित एकीकृत बस्ती विकास गर्ने बताए।
बस्तीमा रहेका करीब ७० घरपरिवारका लागि तत्काल एकीकृत बस्ती विकासका लागि कार्ययोजना तयार गर्न मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई निर्देशन दिए।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सन्थाल जातिको उत्थान र विकास गर्न एकीकृत बस्ती निर्माण गरी उनीहरूको जीविकोपार्जनको विकल्प तयार गर्र्नुपर्ने विषयमा चासो देखाएपछि मन्त्री श्रेष्ठ, सचिव सिंह, शहरी विकास तथा भवन विभागका उच्च अधिकारीसहितको टोली झापाको उर्लाबारीस्थित सन्थाल बस्ती पुगेका थिए।
लोपोन्मुख र सीमान्तकृत सूचीमा रहेका सन्थाल जातिको उत्थानमा कुनै कमी हुन नदिने मन्त्री श्रेष्ठको भनाइ छ। “तत्काल एकीकृत बस्ती विकासका गर्न कार्यदल बनाउन यहीँबाट निर्देशन दिएको छु , कार्यदलले प्रतिवेदनको आधारमा काम अघि बढाउने छ”, मन्त्री श्रेष्ठले भने।
मन्त्रालयका सचिव सिंहले तत्काल कार्यदल बनाएर ‘एक्सन’मा जाने बताए। “कार्ययोजना बनाउन समिति बनाउनेछौं, समितिले दिएको प्रतिवेदनको आधारमा काम अघि बढाउनेछौं। केही दिनपछि प्राविधिक टोलीले यहाँ आएर अध्ययन गर्नेछ। जग्गा प्राप्तिको प्रकृया अघि बढाउनेछ”, सचिव सिंहले भने।
सन्थाल जातिका नागरिकले नदी छेउमा तटबन्ध बनाएर टहरा तयार गरेका छन्। उनीहरूले माछा मारेर र सामान्य मजदुरी गरेर गुजारा गरिरहेका छन्।