तस्करीको अभियोगपछि जेलमुक्त भएकालाई गैंडा संरक्षणमा प्रेरित गर्दै निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीको भियोग लागेर सजाय भुक्तान गरेकाहरूलाई गैंडा संरक्षणमा लाग्न प्रेरित गरेको छ। निकुञ्जमा गैंडा संरक्षणको चुनौती बढिरहेको बेला निकुञ्ज प्रशासनले यसअघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरूलाई गैंडा संरक्षणमा प्रेरित गरेको हो।
एक दशकअघि गैंडाको खाग तस्कर गर्नेहरूले निकुञ्ज आसपास बस्ने चेपाङ समुदायका व्यक्तिहरूलाई प्रयोग गरी गैंडा मार्न लगाएको र सोही अभियोगमा सजाय भुक्तान पूरा गरेका व्यक्तिहरूलाई अहिले गैंडाको संरक्षणका लागि काम गर्न प्रेरित गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।
तत्कालीन समयमा गैंडाको चोरी शिकारमा एउटै गाउँका ४० जनासम्म संलग्न भएका थिए। चेपाङ समुदायका तिनै व्यक्तिहरूलाई अहिले गैंडा संरक्षणमा जुट्न निकुञ्जले प्रेरित गरेको हो। निकुञ्जका प्रमख संरक्षण अधिकृत बरालले निकुञ्ज सम्बन्धी ऐनले निकुञ्जमा तस्करी गर्नेहरूलाई १० लाख रूपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैदको सजाय गरेकाले पनि तस्करीको काममा नलाग्न आग्रह गरे।
तस्करमा संलग्न भएका व्यक्ति तथा उनीहरूका आफन्तहरूले भने चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे तस्करी कम हुने बताएका छन्। विगतमा अशिक्षाका कारण तस्करीमा प्रयोग भएको उनीहरूले बताए। त्यसैले चेतना मुलक कार्यक्रम गर्दै आयआर्जनमा प्रेरित गर्न सके तस्करी कम हुने उनीहरूको भनाइ छ।
आर्थिक रूपमा असुरक्षित भएमा गैंडाको संरक्षण गर्न सम्भव नभएको पनि चेपाङ समुदायका युवाहरूले बताएका छन्। आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनेतर्फ आफूहरूलाई प्रेरित गर्न निकुञ्ज प्रशासनसमक्ष उनीहरूले माग गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा लगातार तीन वर्ष शून्य चोरी शिकार वर्ष मनाइएको थियो। तर, यो चालू अर्थिक वर्षमा खाग चोरी नभए पनि तस्करले चार वटा गैंडा मारिसकेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ वटा गैंडा मारेर तस्करी भएको इतिहास समेत छ।
तस्करीमा लागेका कतिपय चेपाङहरू अहिले कैद भुक्तान गरेर घर फर्किएका छन् भने कतिपय सजाय भुक्तान गरिरहेका छन्। कैद भुक्तान गरेर फर्किएका केही व्यक्तिहरू फेरि तस्करमा संलग्न हुन थालेपछि निकुञ्जले गैंडा संरक्षणमा चेपाङ समुदायलाई प्रेरित गरेको हो।