भीरबाट लडेर राउटे बालकको मृत्यु
सुर्खेतको चिङ्गाड गाउँपालिका–५ मटेला खोला नजिकै बसोबास गर्दै आएका राउटे समुदायका १६ वर्षीय टेकराज शाहीको भीरबाट लडेर मृत्यु भएको छ। बादँरको शिकार गर्ने क्रममा भीरबाट लडेर मंगलवार उनको मृत्यु भएको हो।
राउटे समुदायका युवा र किशोरहरू खाना खाएर नजिकैको जंगलमा मंगलबार दिउँसो बाँदरको शिकार गर्न गएका थिए। शिकार गर्ने क्रममा मटेला खोला नजिकैको भीरबाट लडेर उनको ज्यान गएको सोसेक दैलेखमार्फत् सञ्चालित राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले बताए।
मृतक टेकराज भर्खर पढ्न थालेका थिए। पढाईप्रति आकर्षित उनी आफ्नो समुदायका मुखियाले पढ्न नदिएपनि भर्खर पढ्न र लेख्न सिक्दै गरेका शिक्षक खत्रीले बताए। “आफ्नो नाम लेख्न सक्ने भइसकेका थिए। तर, उनको पढ्ने ईच्छा पूरा हुन पाएन”, शिक्षक खत्रीले भने।
राउटे समुदायमा अहिलेसम्म कसैले औपचारिक शिक्षा नलिएपनि राउटे परियोजनामार्फत् समुदायमै अनौपचारिक कक्षा संचालनमा हुने गरेको छ। मृतक राउटे बालककाे उनीहरूकै परम्परा अनुसार मंगलबार नै अन्त्येष्टि गरिएको छ।
राउटे समुदायमा अहिले ४४ घरपरिवारमा १४५ जना रहेका छन्। केही समयअघि उनीहरूलाई दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नागरिकका रूपमा परिचयपत्र उपलब्ध गराई सामाजिक सुरक्षा प्रदान गर्दै आइरहेको छ।