क्याम्पसका शिक्षक स्वचालित पेस्तोलसहित पक्राउ
वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले एक थान स्वचालित पेस्तोलसहित क्याम्पसका एक शिक्षकलाई पक्राउ गरेको छ।
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाहीको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले पक्राउ गरेको छ। उनी वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मार्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए। घरमा पेस्तोल भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल पनि बरामद गरेको छ।
पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ। उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेकोे प्रनाउ कुँवरले जानकारी दिए।