बर्दिबास घटनाः प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु
महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको बलत्कारपछि हत्या भएपछि स्थानीयले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका वडा नं.१ का ४२ वर्षीय बुद्धिराज न्यौपाने (सन्जय) छन्। उनलाई प्रदर्शनका क्रममा वडा नं. १ भोलावसन्त चोकमा प्रहरीले चलाएको गोली लागेको थियो। तीघ्रामा गोली लागेका उनको उपचारका क्रममा काठमाडौँको ग्रान्डी अस्पतालमा मृत्यु भएको स्थानीय विष्णु बमजनले जानकारी दिए।
उनी भोलावसन्त चोककै स्थानीय हुन्। उनलाई घरबाट करीब २०० मिटरको दूरीमा गोली लागेको थियो। गम्भीर घाइते उनलाई तत्काल बर्दिबासको पिनाकल अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाण्डौंस्थित ग्राण्डी अस्पताल ल्याइएको थियो। तर, अत्यधिक रक्तश्राब भइ उनको राति नै मृत्यु भएको जनाइएको छ।
प्रदर्शनमा घाइते भएका तीन जनामध्ये दुई जनालाई गोली लागेको स्थानीय बमजनले बताए। गोली लागेको अर्का एक जना श्याम कार्कीलाई पनि उपचारका लागि राति नै एम्बुलेन्सबाट काठमाडौँ ल्याइएको छ। अर्का घाइतेको भने बर्दिबास अस्पतालमा उपचार भइरहेको छ।
बर्दिबास नगरपालिका वडा नं. १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब गएको आइतबार बेलुकादेखि बेपत्ता थिइन्। उनको शव सोमबार राति घर नजिकै झाडीमा फेला परेपछि बर्दिबासमा आन्दोलन चर्किएको हो।