लुक्ला विमान दुर्घटना बारे छानबिन समिति
सरकारले खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटना बारे छानबिन गर्न समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए ।
समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनियर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य छन् भने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव तोकिएका छन् ।
लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः१० बजे भएको विमान दुर्घटनामा समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।
लुक्लाबाट रामेछाप उड्ने क्रममा रहेको ‘नाइन एन एएमएच’ कलसाइन विमान धावनमार्गबाट पार्किङ गरी राखिएको श्री एयर र मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको थियो ।
घटनामा समिट एयरका मुख्य पाइलट रविन्द्र रोकाय र मनाङ एयरका हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ सामान्य उपचारपश्चात् घर फर्किसकेको मन्त्रालयद्वारा आइतबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।