वनस्पतिविद् मल्लको श्रद्धाञ्जली सभा वेबमार्फत सम्पन्न
वरिष्ठ वनस्पतिविद् तथा वनस्पति विभागमा लामो समयसम्म महानिर्देशकको रुपमा काम गरेर ९० वर्षको उमेरमा निधन भएका डा. समर बहादुर मल्लको वेबमार्फत श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। मल्लको ४ मंसिर मृत्यु भएको हो।
मल्लको श्रद्धाञ्जली सभामा वनस्पति विभागका पूर्व महानिर्देशकहरु, पूर्व तथा वर्तमान कर्मचारीहरु लगायत त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयका वनस्पतिविद्हरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा प्रा.डा. मोहन सिवाकोटी, श्री सन्जीव कुमार राई, प्रा. डा. राम कैलाश प्रसाद यादव, डा. तिर्थ बहादुर श्रेष्ठ, डा. कमल कृष्ण जोशी, प्रा.डा. सानु देवी जोशी, प्रोफेसर इमेरिटस डा. प्रमोद कुमार झा र डा.सीताराम अधिकारीज्यूहरुले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए।
डा. मल्लको सम्मानमा विभिन्न वनस्पतिहरु इम्पाटियन्स मल्लेई (इम्पाटियन्स प्रेइनी), चमेसियम मल्लेनम, पक्किसनियम मल्लेई, सेक्सिफ्रागा मल्लेई र क्यारेक्स मल्लेईको नामकरण भएका छन्।
मल्लले वनस्पतिको खोज, अध्ययन अनुसन्धान तथा अभिलेखिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरी वनस्पति जगतका लागि ठुलो योगदान गरेका छन्। उनले १८ वर्षको लामो समयसम्म वनस्पति विभागको महानिर्देशकको रुपमा नेतृत्व गरेका थिए। आफ्नो नेतृत्वकालमा उनले वनस्पति विभागको विकासमा तथा वनस्पतिको क्षेत्रमा नै महत्वपूर्ण भूमिका निर्वाह गरे।
उनले नेपालको फ्लोरा लेखन कार्यको सुरुवात गरेका थिए। उनले नेपालमा पहिलोपल्ट वनस्पतिहरूको नमूना संकलन गर्नको लागि 'बोटानिकल एक्सप्लोरेसन' कार्यको सुरुवात गरेका थिए। नेपाललाई "कन्जरभेसन अन इन्टरनेशनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज अफ वाईल्ड फाउना एन्ड फ्लोरा (साईटिस)" को सदस्यता दिलाउन उनको महत्वपूर्ण भूमिका रहेको छ।
उनले वनस्पतिहरुको क्रोमोजोम अध्ययन र त्यसको नक्सा बनाउने कार्यको शुरुवात गर्नुका साथै नेपालमा रहेका वनस्पतिहरुको नक्सांकन कार्यको लागि पनि महत्वपूर्ण योगदान गरेका थिए। वनस्पति उद्यानको आवश्यकता महसुस गरी गोदावरीमा पहिलोपल्ट बोटानिकल गार्डेन- राष्ट्रिय वनस्पति उद्यान निर्माण गर्नको लागि पनि उनको महत्वपूर्ण भूमिका रहेको छ।
उनको नेतृत्व तथा सहलेखनमा विभिन्न पुस्तकहरुलगायत एक दर्जन भन्दा बढी अनुसन्धानमूलक लेख रचनाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशन भएको छ।