पूर्वी पहाडमा कांग्रेस हाँकिरहेकी लीला
चुनावदेखि राष्ट्रिय राजनीतिको परिदृश्यमा नेपाली कांग्रेस कमजोर देखिए पनि कांग्रेस ताप्लेजुङकी सभापति लीला बोखिम जिल्लामा पार्टीको प्रभाव बढाउन लागिपरेकी छिन्।
नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका छ। तर, कोरोनाभाइरस संक्रमण महामारीका कारण निर्धारित समयमा महाधिवेशन हुनेमा पार्टीभित्रबाटै संशय प्रकट भइरहेको छ। कांग्रेस ताप्लेजुङकी जिल्ला सभापति लीला बोखिम (५३) भने तोकिएको समयमा महाधिवेशन नगर्न महामारी र अन्य विषयलाई बहाना मात्र बनाइएको बताउँछिन्।
जिल्लाले गर्नुपर्ने काम समयमै सकिने बताउने उनी केही जिल्लामा बाहेक मुख्य रुपमा केन्द्रमै समस्या रहेको टिप्पणी गर्छिन्। हुन पनि कांग्रेस ताप्लेजुङ जिल्ला कार्यसमितिले महाधिवेशनलाई बाधा नहुने गरी काम गरिरहेको छ। भलै, अब मिति नसारी महाधिवेशन हुन नसक्ने परिस्थिति छ।
कांग्रेसले सबै जिल्लालाई क्रियाशील सदस्यताको विवरण मंसीर मसान्तसम्म पठाइसक्न परिपत्र गरेको छ। बोखिमलाई यो त्यति भारी काम लागेको छैन। यसअघि भदौभरिमा पठाइसक्नुपर्ने समयसीमा दिइएकाले विवरण लगभग तयारी अवस्थामै रहेको उनी बताउँछिन्। भन्छिन्, “हामीले पहिले नै काम सकेका कारण थपिएका क्रियाशील सदस्यहरूको विवरण मात्र बनाउन बाँकी छ। सदस्यता फारमहरु वडासम्म पुगिसकेको छ।”
जिल्ला सभापतिमा निर्वाचित भएयता आफूलाई केन्द्रका नेताहरुबाट पार्टीलाई अगाडि बढाउने विषयमा सुझाव दिन एक कल फोन नगरेको बोखिमको गुनासो छ।
अहिले तोकिएको समयमै विवरण पठाए पनि क्रियाशील सदस्यता प्रमाणित गर्न समय लाग्नेछ। जिल्ला कार्यसमितिबाट भेरिफाइ गरेर वडावडामा पुगेपछि बल्ल अधिवेशन शुरु हुन्छ। वडा हुँदै ७ तहको संरचनाको अधिवेशन पनि आजको भोलि नै भइहाल्दैन। बीचका कार्यतालिकाहरु स्थगित गरिनु नै फागुनमा महाधिवेशन हुँदैन भन्ने संकेत भएको बोखिमको बुझाइ छ।
यो स्थितिलाई उनी केन्द्रको नेतृत्वले नै समयमा महाधिवेशन गर्न नचाहेको उपज मान्छिन्। “कतिपय जिल्लाहरूमा समस्या छ, तर तिनलाई मिलाउन केन्द्रीय नेताहरू न जिल्लामा जान्छन्, न त सल्लाह नै दिन्छन्”, उनी भन्छिन्।
जिल्ला सभापतिमा निर्वाचित भएयता आफूलाई पनि केन्द्रका कुनै पनि नेताहरुबाट पार्टीलाई अगाडि बढाउने विषयमा सुझाव दिन एक कल फोन नगरेको उनको गुनासो छ। उनी भन्छिन्, “केन्द्रीय स्तरका महिला नेताहरु पनि उस्तै हुनुहुन्छ, महिलाको मुद्दामा धेरै बोल्छु भन्ने दिदीहरुको पनि कहिल्यै फोन आउँँदैन।”
पार्टीको उदासीनता र असहयोग
बोखिम सामाजिक काम र राजनीतिलाई सँगसँगै बढाउँदै यहाँसम्म आएकी हुन्। आठ वर्ष नेपाल महिला संघको सभापति रहेकी उनले पार्टी जिल्ला कार्यसमितिमा दुई कार्यकालको अनुभव बटुलेर सभापतिमा सबल भूमिका देखाइरहेकी छिन्।
जिल्ला सभापतिको चुनावदेखि स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन चुनौतीपूर्ण बनेको उनको अनुभव छ।
उनी सभापतिमा उठ्दा चार जना उम्मेदवार थिए। आधाभन्दा कम मत आए बढी आउने दुई उम्मेदवारबीच अर्को पटक फेरि प्रतिस्पर्धा गर्नुपर्ने विधानको व्यवस्था भए पनि उनी पहिलो पटकमै ५९ प्रतिशत मत पाएर निर्वाचित भइन्।
प्रदेश सभा निर्वाचनमा आफ्नै पार्टीको जिल्ला कार्यसमितिको असहयोगले आफू ४५ भोटले हारेको बोखिमको निष्कर्ष छ। चुनावी अभियानका लागि आफू दुर्गम भेगमा लामो समय व्यस्त हुँदा कार्यसमितिले नगरपालिकामा भने एउटै कार्यक्रम नगरेको उनी बताउँछिन्।
तर, कार्यसमितिमा हुनुपर्ने र सिनियर नेताहरु पराजित भएपछि काम गर्न अप्ठ्यारो हुने देखेर उनले मनोनीत गर्ने कोटामा तिनै नेताहरूलाई समेटिन्। जसले गर्दा आफूलाई काम गर्न सहज भएको उनको भनाइ छ।
२० वर्षपछि स्थानीय तहको चुनाव मात्र होइन, संघीय संरचना अनुसार प्रदेशको चुनाव पनि पहिलो पटक गराउनुपर्ने जिम्मेवारी आयो। चुनावका लागि उम्मेदवार छनोटदेखि चुनौती भएको उनी सम्झिन्छिन्।
प्रदेश सभाको चुनावमा उनी प्रदेश सभा (क) बाट प्रत्यक्ष उम्मेदवार भइन्। मदन भण्डारी जन्मिएको जिल्ला तथा तत्कालीन नेकपा एमालेका सचिव योगेश भट्टराई पनि त्यसै क्षेत्रका भएका कारण कम्युनिष्टको गढ मानिने जिल्लामा वाम गठबन्धनको उम्मेदवार बलबहादुर साम्सुहाङसँग उनको प्रतिस्पर्धा थियो। तर, ४५ मतको अन्तरले उनी पराजित भइन्।
त्यसबेला आफ्नै पार्टीको जिल्ला कार्यसमितिको असहयोगले हार्नुपरेको उनको निष्कर्ष छ। चुनावी अभियानका लागि आफू दुर्गम भेगमा लामो समय व्यस्त हुँदा कार्यसमितिले नगरपालिकामा भने एउटै कार्यक्रम नगरेको उनी बताउँछिन्। उनी भन्छिन्, “वाम गठबन्धनलाई सहजै टक्कर दिने उम्मेदवारका रुपमा मलाई हेरिएको थियो, तर पार्टीको चुनावी रणनीति नभएकै कारण झिनो मतान्तरले पराजित भएँ।”
एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङमा स्थानीय तहको निर्वाचनमा ४ गाउँपालिकाको प्रमुख, ६ जना उपप्रमुख तथा ६१ मध्ये २७ वटा वडा कांग्रेसले जित्यो। स्थानीय तहको चुनावमा अन्य जिल्लाभन्दा पार्टीको नतिजा राम्रो भए पनि केन्द्रीय नेताहरुको सहयोगले चाहेजति नभएको उनले महसूस गरेकी छिन्। “हरेक पालिकामा चुनावी सभाका लागि प्रमुख अतिथि बनेर आइदिन केन्द्रीय नेताहरुलाई कैयौं पटक आग्रह गरें, तर २/३ जना मात्रै गए। जुन–जुन पालिकामा उहाँहरु पुग्नुभयो, त्यहाँ राम्रो भोट आयो”, उनले भनिन्।
केन्द्रले वास्ता नगरे पनि उनले ताप्लेजुङमा कांग्रेसको उपस्थिति र प्रभाव बढाउन भरमग्दुर जोडबल गर्दै आएकी छिन्।
‘महिलाको नेतृत्व स्वीकार्न पुरुषलाई कठिन’
सामाजिक काम र पार्टीको अनुभवले आफू जिल्लामा कुनै पुरुष नेताभन्दा कम नभएको बोखिमको दाबी छ। तर, प्रदेश चुनावमा आफूसँग घरदैलो कार्यक्रममा हिंड्न धेरै पुरुषले असहज मानेको उनी सम्झिन्छिन्। यसको विकल्पमा उनले महिलाहरुकै साथ–सहयोग लिएर चुनाव प्रचार गरिन्।
“मेरो जिल्लामा महिलाहरु निकै अगाडि छन्, पुरुषले अप्ठ्यारो मानेको थाहा पाएपछि माइक, स्पीकर बोक्न महिलाहरु नै तयार गरेर चुनावी सभामा हिंड्थें”, उनी भन्छिन्। उनका अनुसार, त्यस पछाडि अरु नेताहरू छुट्टै गाडीमा हिंड्थे, कतिपय कार्यक्रममा त सहभागी हुन मात्रै पछि पुग्थे।
विभिन्न सामाजिक काममा क्रियाशील हुँदै राजनीतिलाई अगाडि बढाएकी उनी दुवै क्षेत्रको नेतृत्वमा पुग्दै आएकी छिन्। महिलाको आर्थिक सशक्तीकरणमा काम गर्ने गरी स्थापना गरेको महिला उद्यमशील संघकी संस्थापक हुन्, उनी। यो संस्थाले विशेष गरी महिलाहरुलाई सामाजिक काम र राजनीतिलाई सँगसँगै लैजान सहयोग गर्ने गरेको छ। उनी सामाजिक काम मार्फत नै गैरसरकारी संस्थाहरुको छाता संगठन गैरसरकारी संस्था महासंघको पनि केन्द्रीय उपाध्यक्षसम्म भइन्।
प्रदेश चुनावमा आफूसँग घरदैलो कार्यक्रममा हिंड्न धेरै पुरुषले असहज मानेको बोखिम सम्झिन्छिन्। यसको विकल्पमा उनले महिलाहरुकै साथ–सहयोग लिएर चुनाव प्रचार गरिन्।
कांग्रेसको जिल्ला कार्यसमितिमा सभापति बन्नुअघि उनी दुई कार्यकाल (८ वर्ष) नेपाल महिला संघको जिल्ला सभापति भइन् भने पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि थिइन्। विभिन्न ठाउँको नेतृत्व र कार्यसमितिको दुई कार्यकालको अनुभवले पनि पार्टीको जिल्ला नेतृत्व हाँक्नु आफ्नो लागि असहज नभएको उनको भनाइ छ।
करीब ८ हजार क्रियाशील सदस्य रहेको जिल्लामा महिलाहरुलाई सदस्यता वितरणलाई पनि उनले प्राथमिकतामा राखेकी छिन्। उनी भन्छिन्, “विधानले हरेक संरचनामा एक तिहाइ महिला हुने भनेको छ, तर क्रियाशील सदस्य महिलाहरु भएनन् भने कोटा नै खाली हुने भएकाले पनि यसमा जिल्लादेखि वडा समितिसम्मले ध्यान दिनुपर्छ।”
कांग्रेसको आगामी महाधिवेशनको चर्चासँगै उम्मेदवारीको चाहना र दाबी पनि शुरु हुन थालिसकेको छ। बोखिमले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोच बनाए पनि निर्णय भने सकेकी छैनन्। “फेरि एकपटक जिल्ला सभापति नै बन्नुपर्छ भन्ने कुरा पनि आइरहेको छ, जिल्ला नेतृत्व वा केन्द्रीय सदस्य कुनै एकमा हुन्छु होला”, उनी भन्छिन्।