कोरोनाले थलिएको क्यानोनिङमा बढ्दो आकर्षण
कोरोना भाइरस (कोभिड-१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ। संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीका कारण बन्द रहेका पर्यटकीयस्थलहरू सञ्चालनमा आउन थालेसँगै व्यवसायले पनि गति लिन थालेको हो।
पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ, फेवातालमा डुंगा सयरदेखि लिएर क्यानोनिङ खुला भएको छ। आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणका रुपमा रहेका यी क्षेत्रहरू खुला हुन थालेसँगै पर्यटकहरूको संख्या पनि बढ्दै गएको व्यवसायीहरू बताउँछन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलमा रहेको पोखरा क्यानोनिङ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गन्तव्य बन्दै गएको छ। १ असोजबाट सञ्चालनमा आएको क्यानोनिङ दशैतिहारपछि भने व्यस्त हुन थालेको छ।
हजारौको संख्यामा क्यानोनिङ गर्नेस्थल पोखरा क्यानोनिङ कोरोना कहरका कारण पहिलाको अवस्थामा आउन केही समय लाग्ने निश्चत छ। यद्यपी बन्दाबन्दी पछिको समयावधिमा करिब २ सय जनाले क्यानोनिङ गरेका छन्। प्रकृतिसँग रमाउन आउने मानिसहरूको संख्या बन्दाबन्दीपछि बढेको भएपनि कोरानाअघिको अवस्थामा फर्किन अझै केही समय लाग्ने पोखरा क्यानोनिङका संचालनक राम गुरुङले बताए। कोभिड संक्रमणको जोखिमका कारण प्रतिदिन १० जनाको मात्रै अर्डर लिने गरिएको उनले बताए। क्यानोनिङका गर्न जानेहरूका लागि त्यहाँ स्यानीटाइर, मास्क र भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षाका उपाय अपनाउने गरिएको उनले बताए।
२०७० सालमा स्थापना भएको पोखरा क्यानोनिङमा अहिलेसम्म हजारौं मानिसले क्यानोनिङको आनन्द लिइसकेका छन्। डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिँदै, चिप्लिँदै, झरना र खोलाका छाँगाबाट खस्दै खेलिने क्यानोनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भइरहेको छ।