‘महासंघको छवि सुधार्ने टोली बनेर काम गर्न चाहन्छौँ’
पोखराबाट झण्डै पाँच दशकअघि व्यवसाय शुरू गरेको लक्ष्मी समूह उद्योग र व्यापारका क्षेत्रमा स्थापित भइसकेको छ। यो समूहको नेतृत्व दोस्रो पुस्तासम्म आइपुग्दा डेढ दर्जन कम्पनीमार्फत् करीब तीन हजार जनालाई रोजगारी दिएको छ। लक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठसँग नेपालको व्यावसायिक क्षेत्र तथा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका विषयमा राजु बास्कोटाले गरेको कुराकानी :
महामारीको असर अर्थतन्त्रमा पनि परेको छ। अब कसरी व्यापार व्यवसायको पुनरुत्थान हुन्छ?
व्यवसाय विस्तारै लयमा फर्कंदैछ। कोरोनाभाइरस र यसको संक्रमणबारे धेरैलाई जानकारी भइसकेकोले अब कसरी व्यवस्थापन गर्दै जीवनपद्धति सञ्चालन गर्ने भन्ने हिसाबले अगाडि बढिरहिएको अवस्था छ। केही क्षेत्रबाहेक सबै व्यवसाय विस्तारै सामान्य हुँदै जान थालेका छन्। मनोरन्जन, विद्यालय, पर्यटनसहितका अति प्रभावित बाहेक अब अन्य क्षेत्र विस्तारै लयमा आउँछन् भन्ने अनुमान गर्न थालिएको छ। सन् २०२१ सम्ममा खोप आउँछ भन्ने आशा पनि छ। त्यसपछि कोरोनासँगै जाने जीवनपद्धति बन्छ र व्यापार व्यवसाय पूर्णरुपमा लयमा आउँछ भन्ने अनुमान गर्न सकिन्छ।
अति प्रभावित बाहेकका क्षेत्रमा कसरी काम भइरहेको छ?
एकै पटक महामारीले थिलथिलो भएका क्षेत्र लयमा आइहाल्छ भनेर आशा गरिहाल्न सकिंदैन। ती क्षेत्र कति प्रभावित छन् र कुन गतिमा पुनरुत्थान हुन्छ भनेर हेर्नुपर्छ। कम प्रभावित क्षेत्र विस्तारै अगाडि जाने क्रममा अरु क्षेत्रलाई त्यसले डोर्याउँछ भन्ने लाग्छ। तर, जबसम्म कोरोनाको खोप बनेर प्रयोगमा आउँदैन तबसम्म व्यवसाय पुनरुत्थान हुने र यति समयभित्र यो गतिमा पुग्छ भनेर ठ्याक्कै भन्न सकिंदैन। पर्यटन, होटल अन्य कलकारखाना विस्तारै खुल्दै जालान्।
महामारीपछि नयाँ लगानीको विस्तार रोकियो। अब, व्यावसायिक क्षेत्रको मनोबल बढ्न कति समय कुर्नुपर्छ?
व्यवसायीले मनोबल बनाएर नै अगाडि बढिरहेकाले आर्थिक गतिविधि बढ्न थालेको छ। नेपाल उद्योग वाणिज्य महासंघले पनि व्यावसायिक क्षेत्रको मनोबल उच्च बनाउन र लगानी सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग व्यवसायको योगदान बढाउने गरी हामी काम गरिरहेका छौं। यसका लागि भिजन र मिसन बनाइरहेका छौं। महासंघले १० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न गर्नुपर्ने नीतिगतदेखि पूर्वाधार विस्तार र लगानीसम्मको योजनालाई अगाडि सारेको छ। पुराना ऐन नियमलाई संशोधन गर्नुपर्छ। व्यावसायिक क्षेत्रलाई नियमन भन्दा पनि नियन्त्रण गर्ने भन्ने खालको नीति छ। यसलाई सहज बनाउनुपर्छ।
त्यसका लागि सरकारसँग लबिइङ नपुगेको हो कि?
हामीले गर्नुपर्ने काम त गरिरहेको छौं। तर, निजी क्षेत्रप्रतिको सरकारी बुझाइ अलि कमजोर चाहिं पक्कै छ। देशको शासन प्रणाली परिवर्तन भए पनि निजी क्षेत्रको प्रवर्द्धन गर्ने सोचमा परिवर्तन नभएको महसूस भएको छ। हामीले हाम्रो तर्फबाट प्रयास गरिरहने एउटा पाटो हो, तर सरकारले ढिला गर्नु भएन। र, सरकारी सोचमा परिवर्तन नभएसम्म हामीले घचघच्याउन पनि छाड्नु हुँदैन।
हामी सबल र सशक्त टीम बनेर आएका छौं। महासंघको गरिमालाई घट्न नदिने गरी काम गर्नेछौं। भोलिको दिनमा हाम्रो टीमले काम गर्न पाएको अवस्थामा महासंघ छवि साँच्चै सुधार भयो भनेर देखिनेछ।
लगानी सहजीकरण तथा पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सरकारी साथ कस्तो छ?
लगानीमा पूर्वाधारको विषय पनि जोडिन्छ। पूर्वाधरमा यातायातको भूमिका महत्वपूर्ण हुन्छ। अहिले देशैभर सडक विस्तार भइरहेको छ। यातायातका साधनमध्ये भरपर्दो मानिएको रेलमार्गमा पनि काम भइरहेको छ। कस्तो पूर्वाधार आवश्यक छ भनेर हामी व्यवसायीले सरकारलाई सुझाव पनि दिएका छौं। त्यसको कार्यान्वयन गरे व्यावसायिक लगानीको वातावरण बन्न सक्छ।
यस्तो वातावरण बनाउन चाहिने न्यूनतम आधार के हो?
लगानीको लागि उचित ब्याजदर र कच्चा पदार्थको सहजै उपलब्धता। व्यावसायिक कृषि खेती गर्ने विषयलाई पनि सहजीकरण गर्नुपर्छ। खण्डीकरण भएको भूमिलाई चक्लाबन्दी गर्नुपर्छ। भूमि ब्याङ्कको अवधारणा आए पनि त्यसलाई व्यवसायीकरण गर्ने गरी मूर्तरुप दिनुपर्नेछ। कृषिमा यान्त्रीकरण गर्नुपर्छ। त्योभन्दा पहिले नेपालमै उत्पादन हुनसक्ने स्रोत साधनको उपलब्धतामा जोड दिनुपर्छ। सरकारले रासायनिक मलको लागि कारखाना बनाउनुपर्छ। वनपैदावार, जडीबुटीको प्रशस्त मात्रामा उपयोग गर्ने विषयमा सरकारले कच्चा पदार्थ मात्रै निर्यात गर्नेभन्दा प्रोसेसिङ गरेर निर्यात गर्ने गरी वातावरण बनाउनु जरुरी छ। खनिज पदार्थ उपयोग गर्ने विषयलाई बढी जोड दिनुपर्छ।
हाम्रो अर्थतन्त्र आयातमुखी छ। यसले स्वावलम्बन अर्थतन्त्र कसरी संभव हुन्छ?
आयात त हाम्रो कहालीलाग्दो नै छ। अहिले नै करीब रु.१ खर्बको निर्यात हुँदा रू.१२ खर्बको आयात भइरहेको छ। भोलिका दिनमा आयात अझै बढ्दै जाने अवस्था छ। आयात घटाउने गरी काम गर्नु हाम्रो लागि चुनौतीपूर्ण नै छ। नेपालमा भएका कामदार बाहिरिने र नेपाली श्रम बजारमा रोजगारी गुमाएका र नयाँ थपिएका श्रमिकको लागि सबैभन्दा पहिलो डाटा ब्याङ्क बनाउनुपर्छ। कुन क्षेत्रलाई बढी जनशक्ति आवश्यक छ भनेर त्यसको लागि अनुसन्धान गरिनुपर्छ। नेपालबाट बाहिर जाने कुन क्षेत्रमा र बाहिरबाट कुन तहमा सीप विकास भएको छ भन्ने थाहा भएपछि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने पनि थाहा हुन्छ। बल्ल स्वावलम्बी हुन सकिन्छ।
तर, सजिलै नाफा हुने भएकाले उद्योगको सट्टा व्यापारमा व्यवसायीहरुको प्राथमिकता देखिन्छ नि?
लगानी बढाउने भनेकै उद्योगमा लगानी गर्ने भनिएको हो। १० प्रतिशतको जीडीपीमा योगदान दिने भन्नुको अर्थ उद्योगमै लगानी बढाउने भन्न खोजिएको हो। स्वावलम्बन हुने भनेको पनि उद्योग बढाउने भनेको हो। हाम्रो उद्देश्य नेपालको सामाजिक आर्थिक विकास गर्ने हो। सात प्रतिशतको आर्थिक वृद्धि कोभिडका कारण दुई प्रतिशतमा झरेको छ। अब त्यसलाई बढाएर फेरि पुरानै लयमा पुर्याउन पनि लगानी बढाउनै पर्छ। यसका लागि हामीले उत्पादन उद्योगलाई पहिलो प्राथमिकता दिनै पर्छ।
तपाईहरुकाे आफ्नै प्राथमिकता पनि गाडीको व्यापारमा भएजस्तो देखिन्छ। उद्योगमा लगानी विस्तार किन भइरहेको छैन?
मलाई धेरैले यो प्रश्न गर्छन्। यस्तो प्रश्न लक्ष्मी ग्रुपको व्यापार व्यवसाय र उद्योगको विषयमा थाहा नभएर गरिएको छ। आज लक्ष्मी ग्रुपले तीन हजार जनालाई रोजगारी दिइरहेको छ। यसमध्ये ६०० जनाले मात्रै अटोमोबाइलमा काम गर्छन्। यसमा पनि ४०० जना सेवा उद्योग अन्तर्गतको सर्भिस सेक्टरमा काम गर्छन्। २०० जना मात्रै सेल्स, सर्भिस र एड्मिनमा छन्। अर्को २४०० जनाले त उद्योगमै काम गरिरहेका छन्। लक्ष्मी ग्रुपको कन्फ्रेक्सनरी, डेरी, प्याकेजिङ, स्टिलसहितका उद्योगमा लगानी छ। हुण्डाइमार्फत ट्रेडिङमा पनि लगानी गरेको छौं। त्यसले नेपालमा ब्राण्ड स्थापित गरेको छ। हामीले डेरीमा लगानी गरेकै कारण दैनिक डेड लाख लिटर दूध खपत भइरहेको छ। दुईदेखि तीन वर्षमा सातै प्रदेशमा डेरी उद्योग पुर्याउने योजना छ। स्टिल प्लान्टमा भर्खरै लागेका छौं। पर्यटन उद्योगमा पनि जाँदैछौं। हाइड्रो, अस्पताललगायतमा पनि लगानी छ।
कुन क्षेत्रलाई बढी जनशक्ति आवश्यक छ भनेर त्यसको लागि अनुसन्धान गरिनुपर्छ। नेपालबाट बाहिर जाने कुन क्षेत्रमा र बाहिरबाट कुन तहमा सीप विकास भएको छ भन्ने थाहा भएपछि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने पनि थाहा हुन्छ। बल्ल स्वावलम्बी हुन सकिन्छ।
व्यापारिक दायरा फराकिलाे बनाउनकै लागि लगानीमा विविधीकरण आवश्यक छ भन्न खोज्नुभएको हो?
पक्कै पनि यो ग्रुपको सबै क्षेत्रमा लगानी विविधीकरण भएको छ। नेपालको कुनै पनि स्थापित र लगानी विस्तार गरिरहेको औद्योगिक ग्रुपले लगानी विविधीकरण नै गरेको छ। जनसंख्या, भौगोलिक अवस्था जस्ता कारणले लगानीमा विविधीकरण आवश्यक छ। कसैले ट्रेडमा लगानी गरेको छ भने त्यो पनि अर्थतन्त्रको पाटो हो, त्यसलाई प्रोत्साहन गर्नुपर्छ। ट्रेडिङबाटै सुरु भएको दुईवटा मोटरसाइकलको एसेम्लिङ इन्डस्ट्री नेपालमा आइसकेको छ। हामीले पनि हुण्डाई मोटर्स कम्पनीसँग नेपालमै एसेम्लिङको लागि आशयपत्रमा सहमति गरिसकेका छौं। कोभिडको कारणले ढिलो भएको छ। कति समय लाग्छ भनेर चाहिं अहिले नै भन्न सकिंदैन। सरकारले पनि गाडीको लागि एसेम्लिङ गर्न नीतिगत सुधार गर्नुपर्ने अवस्था छ। खाद्यान्नमा पनि फार्मिङसहित आउँदैछ। अटोमोबाइलमा विशेष काम गर्न सकेका छौं। अरु उद्योगमा पनि राम्रो भइरहेको छ।
तपाईं पर्यटन क्षेत्रमा लगानी विस्तार गर्दै हुनुहुन्छ। कोभिड महामारीले यो क्षेत्रको लगानी योजनामा कुनै परिवर्तन ल्यायो कि?
हामी होटल क्षेत्रमार्फत पर्यटनमा लगानी विस्तार गर्दैछौं। तर, कोभिडको कारणले एक दुई वर्ष पछाडि धकेलिन सक्छ। जग्गा लिएर तयारी अवस्थामा बसेको भए पनि भवन बनाउने काम शुरु भएको छैन। केही समय ढिलो भए पनि काम चाहिं गर्छौ।
नेपाली उद्यमीहरुलाई सीमित प्रतिस्पर्धा गर्ने गरेको र विदेशी ठूला लगानीकर्तालाई भित्रिन निरुत्साहित गर्ने गरेको आरोप लाग्छ। जस्तै, भारतको अमुललाई नेपाल आउन रोक्न तपाईहरुले लबिइङ गर्नुभयो भन्ने आरोप लाग्छ नि !
कुनै पनि मुलुकले आफ्नो इन्ट्रेस हेर्छ र हेर्नुपर्छ। अमेरिका जस्तो विकसित मुलुकले पनि हेरेको छ। डेरी उद्योगका सबै व्यवसायीको हितको लागि र राष्ट्रिय उद्योगलाई संरक्षण गर्न आवश्यक भएकाले आवाज उठेको हो। स्थापित हुँदै गरेको उद्योगलाई रक्षा गर्नुपर्छ। किसान र डेरीहरुको हितको लागि हामीले काम गर्नुपर्छ। योबाहेक माछा र छपाइसहित अन्य ६/७ वटा उद्योगलाई पनि जोगाउनुपर्ने अवस्था छ। सरकारले खुलाबजार अर्थतन्त्र अंगीकार गर्दा धेरै क्षेत्र खोलेको छ। तर, सबैलाई एकैपटक खुल्यो त्यो नै कमजोरी भयो। राष्ट्रिय उद्योगलाई केही समय दिनुपर्ने थियो। व्यवसायीले प्रतिस्पर्धाको क्षमता छैन भनेर आफ्नो संरक्षण खोजेको होइन, राष्ट्रिय उद्योगलाई संरक्षण गर्नुपर्छ भनेर निजी क्षेत्रले आवाज उठाएको हो।
राष्ट्र ब्याङ्कले ल्याएको पुनःकर्जा कोष परिचालन ढिलो हुँदा व्यवसाय प्रोत्साहन गर्नेभन्दा थप मर्का परेको भन्ने गुनासो व्यवसायीको छ। कसरी यस्तो भयो?
पहिला ऐन आउन समय लाग्ने र आएपछि लागू गर्न समय लाग्ने समस्या छ। उदाहरणको लागि औद्योगिक व्यवसाय ऐन बन्यो तर, नियमावली बनेर कार्यान्वयनमा आउन एक वर्ष लाग्यो। त्यस्तै वातावरण ऐन बन्यो अहिलेसम्म नियमावली नआउँदा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) कसरी गर्ने भनेर तोकिएको छैन। जसले गर्दा उद्योग व्यवसायीलाई जटिलता नै छ। राष्ट्र व्याङ्कले ल्याएको पुनःकर्जाको नियम बनाएर पनि चार पाँच महीनापछि मात्रै आएको छ। यसले त व्यवसायीलाई गम्भीर समस्यातर्फ धकेलिसकेको छ। पुनःकर्जा लिन पनि समस्या छ। जसले गर्दा सरकारले ल्याएको ‘रिलिफ प्याकेज’ प्रोत्साहन गर्न र उद्योग व्यवसायलाई त्राण दिन ल्याए जस्तो देखिएन।
संस्थाभित्र केही न केही विकृति छन्। महासंघ विशुद्ध व्यावसायिक संस्था हो। यो राजनीति गर्ने र गुटबन्दी गर्ने ठाउँ होइन। अबको महासंघ अध्यक्षले आफ्नो योजना र टीम बनाउँदै हुनुुहन्छ।
तपाईं नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत समूहतर्फको उपाध्यक्ष पदको उम्मेद्वार हुनुहुन्छ। तपाईंको उम्मेद्वारी किन? के–के अजेण्डा छन्?
सबल, सुदृढ र सफल निजी क्षेत्र बनाउने नै उद्देश्य हो। त्यसैको लागि हामीले काम गर्ने हो। नीतिनियम सुधार गर्ने, लगानीको वातावरण बनाउने, रोजगारी सिर्जना गर्ने, व्यापार घाटा कम गर्न काम गर्ने योजना छन्। हामी निजी क्षेत्र बलियो बनाउन चाहन्छौँ। यिनै कुरालाई ध्यानमा राखेर हामीले हाम्रो अजेन्डा तय गरेका छौँ।
महासंघ आफैं चरम गुटबन्दी र राजनीतीकरणको भासमा परेको देखिन्छ। महासंघको छवि पनि बलियो बन्न सकेको छैन। यसरी व्यावसायिक क्षेत्रको जिम्मेवारपूर्ण प्रतिनिधित्व हुन्छ?
संस्थाभित्र केही न केही विकृति छन्। महासंघ विशुद्ध व्यावसायिक संस्था हो। यो राजनीति गर्ने र गुटबन्दी गर्ने ठाउँ होइन। अबको महासंघ अध्यक्षले आफ्नो योजना र टीम बनाउँदै हुनुुहन्छ। उहाँले बनाउन खोजेको टीममा सफल र लामो अनुभव लिएका व्यवसायी छन्। आफूलाई प्रमाणित गरिसकेको टीम खोजेकोले संस्थागत हितका लागि काम गर्दै बलियो महासंघ बन्ने हाम्रो विश्वास छ।
महासंघको छवि उचाल्न तपाईंसहितको टीमको योजना चाहिं के–के छन्?
हामी सबल र सशक्त टीम बनेर आएका छौं। महासंघको गरिमालाई घट्न नदिने गरी काम गर्नेछौं। भोलिको दिनमा हाम्रो टीमले काम गर्न पाएको अवस्थामा महासंघ छवि साँच्चै सुधार भयो भनेर देखिनेछ।