५५ जिल्लाका ११ हजार स्थानमा पुग्यो ब्रोडव्याण्ड इन्टरनेट
देभभरका ५५ जिल्लामा इन्टरनेट सेवा पुगेकाे छ। देशभरका ४६ जिल्लाका ५०६ स्थानीय तहमा नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडव्याण्ड इन्टरनेट पुर्याएको छ। थप ९ जिल्लाहरूमा पनि ५० प्रतिशत काम सम्पन्न भई इन्टरनेट सेवा सञ्चालनमा आएको छ। प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरेर देशैभरका सबै स्थानीय तहमा द्रुत गतिको इन्टरनेट पुर्याउँदै छ।
प्राधिकरणले दिएको जानकारी अनुसार कात्तिक २०७७ सम्ममा काम भइरहेका विभिन्न १८ वटा प्याकेजमध्ये १२ वटा प्याकेजको काम सकिएको छ। ४६ जिल्लाका सबै स्थानीय निकाय, वडा कार्यालय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट सेवा पुगेको प्राधिकरणको दाबी छ।
प्राधिकरणले दिएको जानकारी अनुसार हालसम्म विभिन्न सेवाप्रदायकसँग सम्झौता भएर काम भएका देशैभरका १५ हजार ९८२ स्थानमध्ये हालसम्म ५०६ स्थानीय तहकका ११ हजार ८६ स्थानमा इन्टरनेट सेवा पुगेको छ। बाँकी १९६ वटा स्थानीय तहका ४ हजार ८९६ स्थानमा पनि औषतमा ६९ प्रतिशत प्रगति भएकोले छिट्टै देशैभर इन्टरनेटको पहुँच पुग्ने जानकारी प्राधिकरणले दिएको छ।
प्राधिकरणले ब्रोडव्याण्ड परियोजना सम्पन्न गर्न जम्मा रु.५ अर्ब ६७ करोड ४६ लाख ९१ हजार खर्च गर्दै छ। यही कामको लागि काठमाडौं उपत्यका बाहेकका सबै जिल्ला र गाउँ गाउँमा इन्टरनेट सेवा पुर्याउनुपर्छ। सरकारले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर सेवाप्रदायकलाई पूर्वाधार विस्तारमा अनुदान दिएकोले सेवा पुगेको दुई वर्षसम्म भने निःशुल्क इन्टरनेट दिनुपर्ने छ।
दुई वर्ष पुगेपछि भने सहरी क्षेत्रमा पाएको दररेटमा सबै सेवाप्रदायकले ग्रामीण भेगसम्म नै इन्टरनेट सुविधा दिनुपर्ने प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार रु. ९ अर्ब ८९ करोड १७ लाख खर्च गरेर मध्यपहाडी लोकमार्गलाई आधार बनाएर हरेक जिल्ला सदरमुकाम जोड्ने गरी इन्टरनेट सेवाको पूर्वाधार बनाउने कामसमेत अगाडि बढाइरहेको छ।
प्राधिकरणले सूचना महामार्गको रुपमा यो परियोजनालाई तीन वटा प्याकेजमा अगाडि बढाएको छ। यो परियोजना भने पहिलो प्योकज अन्तर्गतक प्रदेश एक, २ र बागमती प्रदेशमा १५ प्रतिशत मात्रै प्रगति भएको तथ्यांकमा उल्लेख छ। बाँकी चारवटा प्रदेशमा कामै शुरु भएको छैन्।