चलचित्र छायांकन खुलाउन सरकारसँग निर्माता संघको आग्रह
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन्।
कोरोना संक्रमण महामारी रोकथामका लागि बन्दाबन्दी भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुले पनि चलचित्र क्षेत्र खुल्न सकेको छैन। सरकारले लगाएको बन्देज नहट्दा चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट सयौं कलाकारको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन्।
चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, प्राविधिक तथा सर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थ मन्त्रालयमा गराइसकेको उनले बताए। सरकारले चलचित्र क्षेत्र सञ्चालन गर्न दिए जनस्वास्थ्यका मापदण्ड अपनाएर चलाउन आफूहरु तयार रहेको अधिकारीले बताए।
उनले भने, "गीत संगीत सर्जक, कलाकार, प्राविधिक लगायत सबैको समस्या छ। यसैले अब हामीलाई छायांकनमा लगाइएको निषेध खोलिदिए विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका मापदण्ड अपनाएर सिनेमा छायांकनमा जान सक्छौं भन्ने कुरा पनि हामीले बुँदागत रुपमा प्रस्तुत गरिसकेका छौं।"
अध्यक्ष अधिकारीले महामारीबाट प्रभावित बनेको चलचित्र क्षेत्रलाई बजेटले नसमेटेको गुनासो समेत गरे। नेपाल राष्ट्र ब्यांकको मौद्रिक नीतिले समेटे पनि अहिलेसम्म कुनै पनि फाइदा लिन नसकेको उनले बताए। उनले भने, "राष्ट्र ब्यांकले चलचित्र क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा समेटिदियो। तर त्यसको फाइदा के हो भन्ने कुरा अहिलेसम्म आएको छैन।"
अध्यक्ष अधिकारीले चलचित्र क्षेत्रले मनोरञ्जन मात्रै नभएर कला संस्कृति भेषभूषा र पर्यटनलाई समेत समेटेको क्षेत्र भएको भन्दै तत्काल खोल्नुपर्ने बताए।
आफू नेपाल उद्योग वाणिज्य महासंघमा रहेर चलचित्र क्षेत्रको समस्या समाधानमा लाग्न खोजिरहेको पनि उनले बताए। चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोड्न आफूले महासंघको ५४औं साधारणसभामा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अधिकारीको भनाइ छ।