कुटपिटबाट मदिरा सेवन गरेका युवकको मृत्यु, दुई छिमेकी पक्राउ
कुटपिट गरी छिमेकी युवकको हत्या गरेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वृन्दावन नगरपालिका–७ सखुअवाधमौराका अमिरी पासवान र विन्द पासवान छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरुलाई सोही ठाउँका १९ वर्षीय किशोर विकास पासवानको हत्या गरेको आरोप छ। मदिरा सेवन गरी छिमेकीलाई गाली गर्न थालेपछि कुटपिट विकासमाथि कुटपिट गरेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्।
मदिरा सेवन गरेका विकासले सोमवार साँझ अमिरीलाई गालीगलौज गरेका थिए। त्यसपछि आवेशमा आएका अमिरी र विन्दले उनलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका विकासको गरुडास्थित सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो। मृतकको शव पोस्टमार्टमका लागि गौरमा राखिएको छ।
-सञ्जय मित्र/रौतहट