कोरोना जोखिमबीच कक्षा १२ को परीक्षा शुरु (तस्वीरहरु)
कोरोनाभाइरस संक्रमणको जोखिमका कारण गत वैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा मंगलबारबाट शुरु भएको छ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिएको हो। पहिलो दिनको परीक्षा सफलतासाथ सकिएको छ। परीक्षार्थीहरु स्वास्थ्य मापदण्ड अनुसार मास्क तथा फेससिल्ड लगाएर परीक्षा केन्द्र पुगेका थिए। परीक्षा हलमा अनिवार्य रुपमा ज्वरो नापेर प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
४० प्रतिशत अंकभारको परीक्षा बिहान ८ बजेदेखि साढे नौ बजेसम्म साढे एक घण्टा तय गरिएको छ। थप ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिनेछ।
परीक्षासम्बन्धी कार्यविधि अनुसार एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थीलाई दुई/दुई मिटरको दूरीमा राख्नुपर्ने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। बोर्डले परीक्षामा देशभरका चार लाख ३२ हजार ५०० विद्यार्थी सहभागी भएको जनाएको छ। परीक्षा १६ मंसीरसम्म चल्नेछ।