थिमिबासीले मनाए सिन्दुर खेल्दै सुथः सिया
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले सोमबार विहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् ।
विहानैदेखि मध्यपुरथिमिको टोल–टोलबाट विभिन्न देवताहरूको मूर्तिलाई खटमा राखी खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो ।
थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायत स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । यो जात्रा आज विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो ।
हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरू सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।
जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकाली लगायत देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइएको छ ।
थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७ र टिगनीमा एक स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ ।
यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सुथः सिया जात्रा मनाइने परम्परा छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।
जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।
बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरू सहित क्वाछें द्यों, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिन्छ ।
परम्परा अनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यों, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ ।
अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यों परिक्रमा गरिने क्रमैसँग सुगां द्यों, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ भने बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमंग र उत्साहका साथ थिमिका स्थानीयवासीले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ । -रमेश गिरी