कांग्रेसले भन्यो- ‘नेकपाभित्रको द्वन्द्वमा प्रतिपक्षको टाउको गन्ने काम नगर’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ। उसले नेकपाभित्रको द्वन्द्वमा निरपेक्ष रहेको पनि स्पष्ट पारेको छ।
पार्टीभित्र द्वन्द चलिरहेका बेला प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट गरेको विषयमा भइरहेको टिप्पणीलाई लक्षित गर्दै कांग्रेसले अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सत्तामा सहभागी गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न पनि आग्रह गरे। अहिले सरकारमा सहभागी हुने कांग्रेसको रूचिको विषय नभएको शर्माको भनाइ छ। जनताले ५ वर्ष प्रतिपक्ष भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफूहरू लालयित नभएको उनले बताए।
‘‘पाँच वर्षका लागि प्रतिपक्षमा रहने जनादेश छ। हामी सत्ताका लागि लालायित छैनौँ। नेकपाभित्रको द्वन्दमा हामी पुरै निरपेक्ष छौँ। उहाँहरूको कुनै प्रकारको जोड घटाउ हुँदै गर्दा प्रतिपक्षको टाउको गणना गर्ने काम कतैबाट नहोस्’’, शर्माले भने।
लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्ष दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न उनले आग्रह गरे।
शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो। कांग्रेस प्रवक्ता शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताए।
‘‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्ष दलको नेताको बीचमा भेटघाट हुनका लगि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित जस्तो लाग्दैन। लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो।’’
विगत अढाई वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण निर्णय गर्दा पार्टी सभापति एक्लैले नगरेको स्मरण गराउँदै शर्माले पहिले पदाधिकारी तहमा छलफल गरेर केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अगाडि बढ्ने बताए।
भोलिको दिनमा नेकपा एउटै बाटोमा जान्छ भन्ने टुंगो नभएको उल्लेख गर्दै शर्माले भने, ‘‘उनीहरू एउटा निश्चित टुंगोमा नपुग्दासम्म नेपाली कांग्रेसले टिप्पणी गरिराख्नुपर्ने, धेरै चासो राख्नुपर्ने र सत्तारूढ दलमा केही द्वन्द भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु।’’