क्रिकेटको बन्द प्रशिक्षणको तयारी पूरा
नेपाली राष्ट्रिय क्रिकेट टीमको बुधबारदेखि शुरू हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ।
बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी प्रशिक्षक तथा ग्राउण्ड स्टाफको मंगलबार पीसीआर परीक्षण गरिनेछ। पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकहरूलाई काठमाठौंको एक होटेलमा राखिनेछ भने ग्राउण्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ।
ग्राउण्ड स्टाफलाई पहिलो चरणमा एक महीना घर जान दिइने छैन भने खेलाडीहरूलाई पनि होटलबाट मैदानसम्म आउनका लागि क्रिकेट संघकै बस प्रयोग गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सदस्य दुर्गाराज पाठकले क्लोज क्याम्पको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
खेलाडीहरूलाई राख्नका लागि होटेल पनि आइसोलेट गरिएको र त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको उनले बताए।
स्वास्थ्य मापदण्डका कुराहरूमा क्यान संवेदनशील रहेको बताउँदै अहिलेको अवस्थामा सम्पूर्ण व्यवस्थापन मिलाउन चुनौती रहेको भएपनि खेलाडीहरू मैदान उत्रन उत्साहित रहेको पाठकले बताए।