एक महीनाभित्र संसद अधिवेशन शुरू हुन्छः सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन एक महीनाभित्र शुरू हुने बताएका छन्। उनले संसद शुरू गर्ने विषयमा सरकारसँग छलफल भइरहेको पनि बताए।
“अब नयाँ अधिवेशन करीब करीब एक महीना पछाडी शुरू हुन्छ। कुराकानी चल्दै छ। सकेसम्म अगाडि नै चलाउनका लागि कुराकानी चल्दैछ”, सोमबार सिंहदरबारस्थित संसद् सचिवायलमा नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख सापकोटाले भने।
सभामुख सापकोटाले अधिवेशन शुरू गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको पनि बताए। कोरोना महामारीका कारण संसद चलाउने सम्बन्धमा विभिन्न विकल्पमा समेत छलफल भइराखेको सभामुख सापकोटाले बताए।
हिउँदे अघिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले प्रष्ट पारे। “पछि ती अध्यादेशहरूमा सदनमा छलफल हुने नै छ। सकेसम्म चाँडो सदन राख्नका लागि छलफल चल्दै छ”, उनले भने।
संसद अधिवेशन नबोलाइएकोमा सरकार र संसदको नेतृत्वमाथि आलोचना भइरहेको अवस्थामा सभामुख सापकोटाले छिट्टै अधिवेशन बोलाउने तयारी भइरहेको बताएका हुन्।
बजेट पारित भएपछि सकिएको संसद अघिवेशन अहिलेसम्म पनि आव्हान हुन सकेको छैन। संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आव्हान गर्ने व्यवस्था छ।