कांग्रेस नेता पाण्डेले लिए सांसदको शपथ
नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउँसो सिंहदरबारस्थित् संघीय संसद् सचिवालयमा शपथ लिएका हुन्।
पाण्डेलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराए। प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेपाली कांग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो।
प्रतिनिधि सभा सदस्यको रूपमा शपथ ग्रहण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै सांसद पाण्डेले संघीय संसदको गरिमा उचो बनाउन आफ्नो भूमिका रहने बताए। यस्तै, पछिल्लो समय प्रतिपक्षप्रति जनताको बीचमा विकास भएको धारणालाई चिर्न थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत पाण्डेले व्यक्त गरे।
२०३७ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई पाण्डेले राजनीतिक यात्रा शुरू गरेका थिए। २०४३ सालमा नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको सभापति, २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरेका थिए।
यस्तै, कांग्रेसको पार्टीको जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुँदै पार्टीमा सक्रिय भूमिकामा रहेका पाण्डे २०६४ सालको निर्वाचनमा स्याङजा क्षेत्र नं. ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।