बालबालिकालाई सिकाउनुपर्ने जीवनोपयोगी सीप पहिले अभिभावक र शिक्षकलाई !
बालबालिकाले जीवनयापनका लागि नसिकी नहुने पहिलो सीप हो, खाना खानु। तर, बहुसंख्यक आमाहरुकै कारण यो सीप सिक्नुपर्ने उमेरका बालबालिका सिकाइबाट बञ्चित छन्। त्यसकारण हाम्रा बालबालिका परनिर्भरताको पहिलो पाठ आफ्नै अभिभावकबाट सिक्दैछन्।
केही वर्षअघि बिहानीपख एक जना छिमेकी बहिनी कक्षा तीन पढ्ने आफ्नो छोरालाई हतारहतार खाना खुवाउँदै थिइन्। यो दृश्यले मलाई अचम्मित बनायो। उनका छोरा आफैँ खाना खानसक्ने उमेरका थिए। “आफैं शिक्षक भएर अहिलेसम्म छोरालाई खाना खुवाउनुहुन्छ बहिनी?”, मैले भनेँ। प्रत्युत्तरमा उनले भनिन्, “हो नि दिदी! आफैं त ढिलो गर्छ। त्यसैले खुवाइदिनुपर्छ।”
विद्यार्थीलाई पाठ्यपुस्तकका विषयबाहेक पनि जीवनोपयोगी सीप सिकाउनुपर्ने अभिभारा शिक्षकको हो। तर, विद्यालय जाने उमेरका आफ्नै छोराछोरीलाई खाना खाने सीपसमेत सिकाउन सकिरहेका छैनन्। कामकाजी मात्र हैन गृहिणी आमाहरुसमेत आफ्ना विद्यालय जाने उमेरका छोराछोरीले ‘ढिलोगरी खाने’ र ‘पोखाउने’ भन्दै आफैँ खुवाइदिन्छन्।
यस्तो बानीले विशेष गरी हुनेखाने घरका बालबालिका कालान्तरमा आफूले गर्न सक्ने काम पनि अरुमा भरपर्दै जान्छन्। अभिभावकहरुले साना तर, महत्वपूर्ण जीवनोपयोगी सीप ‘ठूलो भएपछि आफैं सिक्छन्’ भनेर वास्तासमेत गर्दैनन्। यसैको परिणाम किशोरावस्था पुग्दासमेत उमेर अनुसार जान्नुपर्ने सीप जानेकै हुँदैनन्।
कोरोना महामारीका कारण बन्दाबन्दी शुरु भएयता धेरै व्यक्तिको समय अनुत्पादक काममा बितिरहेको छ। साना–ठूला सबैको जीवनशैली र दैनिकी फेरिएको छ। कतिपय हुनेखाने घरका छोराछोरी घरबाहिर निस्कँदैनन्। उनीहरुको धेरैजसो समय टेलिभिजन हेरेर र मोबाइलमा गेम खेलेर बित्छ। अझ कतिपय परिवारमा घरायसी कामका लागि सहयोगी राखिएको हुन्छ। यसले गर्दा बालबालिकालाई ‘घरको काम हामीले गर्ने होइन’ भन्ने बुझाइ हुन्छ। उनीहरु झनै परपर्निभर हुँदै जान्छन्।
यद्यपि हुँदाखाने घरका छोराछोरीले आफ्ना अभिभावकलाई उमेरअनुसारको घरायसीलगायत काममा सघाउने गर्छन्। त्यस्ता परिवारमा छोराको तुलनामा छोरीले नै बढी घरायसी कामकाज गर्छन्। जीवनोपयोगी सीप पनि बढी उनीहरुले नै जानेका हुन्छन्।
वास्तवमा जीवनोपयोगी सीप सिक्ने पहिलो थलो घर नै हो, र अभिभावक गुरु। जीवनोपयोगी सीपको शुरुआत घरायसी कामकाजबाट हुन्छ। यसप्रति चासो जगाउन अभिभावकहरुले सहजीकरण गर्न जरुरी हुन्छ। ‘हाम्रा बालबालिका भोलिका जनशक्ति हुन्’ भन्ने आधारभूत बुझाइ अभिभावकमा हुनैपर्छ। तर, बालबालिकालाई उनीहरुका साना काम पनि गर्न नदिने जस्तै बुझाइ शिक्षकहरुमा पनि भएकाले विद्यालयमा पनि जीवनोपयोगी सीप सिक्नबाट बञ्चि छन्।
पितृसत्तात्मक नेपाली समाजमा बहुसंख्यक अभिभावकले छोरा र छोरीलाई हुर्काउन विभेद गर्छन्। अधिकांश छोराहरुले घरायसी काममा चासोसमेत राख्दैनन्। उनीहरु आफूलाई छोरीहरुभन्दा विशेष सम्झन्छन्। सोही अनुरुप उसको व्यक्तित्व विकास हुन्छ। यस्तो हुर्काइले कालान्तरमा उसको व्यक्तिगत र सामाजिक व्यवहारमा नकारात्मक र दीर्घकालीन प्रभाव पार्छ। ‘छोरी अर्थात् महिला भनेका पुरुषका सेवक हुन् र यिनीहरु पुरुषजति सक्षम हुँदैनन्’ भन्ने गलत भावनाको विकास हुन्छ।
विद्यालय तहदेखि नै अभिभावकले घरमा र शिक्षकले विद्यालयमा परनिर्भरताको पाठ सिकाउँछन्। जसकारण ‘नेपालमा भविष्य छैन विदेश नै जानुपर्छ’ भन्ने बुझाइ व्याप्त छ। र यस्तो बुझाइलाई हाम्रो शिक्षाले प्रत्यक्ष र परोक्षरुपमा मलजल गरेको छ। यो जीवनोपयोगी शिक्षा नहुनुको उच्चतम रुप हो।
विकसित मुलुकहरुलाई हेर्दा जापानमा बालविकास कक्षादेखि नै विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाइन्छ। त्यहाँ विद्यार्थीलाई आफ्नो कक्षा कोठा आफैँ सफा गर्न लगाइन्छ। आफूले खाएको थाल वा बटुका सफा गर्न शिक्षकले सहजीकरण गर्छन्। यसरी उमेर अनुसारको जीवनोपयोगी सीप सिकाउन जापानी अभिभावक र शिक्षकहरु अग्रसर भएकै कारण उनीहरु आत्मनिर्भर बनेको सहजै अनुमान गर्न सकिन्छ।
तर, हाम्रो देशमा सानै उमेरदेखि परनिर्भरताको पाठ सिकाउन अभिभावक र शिक्षक नै लागिपरेका छन्। विद्यालय तहदेखि नै अभिभावकले घरमा र शिक्षकले विद्यालयमा परनिर्भरताको पाठ सिकाउँछन्। जसकारण ‘नेपालमा भविष्य छैन विदेश नै जानुपर्छ’ भन्ने बुझाइ व्याप्त छ। र यस्तो बुझाइलाई हाम्रो शिक्षाले प्रत्यक्ष र परोक्षरुपमा मलजल गरेको छ। यो जीवनोपयोगी शिक्षा नहुनुको उच्चतम रुप हो।
केही वर्षअघि नेशनल जियोग्राफिकले बालबालिका किशोरावस्थासम्म आइपुग्दा सिक्नुपर्ने सीपबारे ‘हन्ड्रेड थिङ्गस टु डु बिफोर यु ग्रोअप’ भन्ने पुस्तक प्रकाशित गरेको छ। जसमा ससाना तर महत्वपूर्ण सीपबारे चित्रसहित उल्लेख गरिएको छ। नेपालमा पनि तीमध्ये केही सीप सहजै सिक्न र सिकाउन सकिन्छ। तर, यस्ता सीप सिकाउनुपर्छ भन्ने आधारभूत ज्ञान पहिले अभिभावक र शिक्षकमा हुनु जरुरी छ। उदाहरणका लागि गाँस, बास र कपासको जोहो गर्न सिकाउने यस्ता केही सीपले विद्यार्थीलाई आत्मनिर्भरताको पाठ मात्रै सिकाउँदैन, स्वदेशमै पेशा व्यवसाय खोज्ने अवसर पनि सिर्जना हुन्छ।
ढिलै भए पनि हालसालै कक्षा ११ को सामाजिक विषय अन्तर्गतको पाठ्यसामग्रीमा विद्यार्थीलाई १० वटा जीवनोपयोगी सीप सिकाउनुपर्ने उल्लेख गरिएको छ। तथापि कार्यान्वयनमा आउन अझै केही समय कुर्नुपर्ने हुन्छ।
हामीले ‘गाँस’ वा खानाबारे पढाउँदा मानव जीवनका लागि नभई नहुने अन्नबाली र तरकारी उत्पादन गर्ने सीप पनि सिकाउनुपर्छ। जसले गर्दा सानै उमेरमा कृषि कर्मबारे बुझ्ने अवसर पाउ“छन्। उनीहरुमध्ये कतिपयले कृषिमै भविष्य खोज्ने प्रयास गर्न सक्छन्। गाँस, बास र कपासबारे सिकाउँदा बालबालिकामा मानवीय गुण जस्तै, सहयोगी भावना, दया, मायाको विकास गराउन तथा सामाजिक कामप्रति चासो जगाउन अभिभावक र शिक्षकले नै उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्ने उक्त पुस्तकमा उल्लेख छ।
ढिलै भए पनि हालसालै कक्षा ११ को सामाजिक विषय अन्तर्गतको पाठ्यसामग्रीमा विद्यार्थीलाई १० वटा जीवनोपयोगी सीप सिकाउनुपर्ने उल्लेख गरिएको छ। तथापि कार्यान्वयनमा आउन अझै केही समय कुर्नुपर्ने हुन्छ। तर, त्यसअघि अभिभावक र शिक्षकलाई अभिमुखीकरण गर्न उत्तिकै जरुरी छ। किनभने बाल्यावस्थादेखि नै आफ्ना अभिभावक र शिक्षकबाट परनिर्भरताको पाठ सिक्दै आएका विद्यार्थीलाई एकैचोटि कक्षा ११ मा ती सीप सिकाउनुपर्नेछ। त्यसका लागि अभिभावक र शिक्षकले आफूलाई परिवर्तन गर्नुपर्छ।