भारतले छोटो हवाई रुटको अनुमति नदिंदा नेपाललाई उडानैपिच्छे घाटा
नेपालले वर्षौंदेखि सिमरा प्रवेश विन्दुको विकल्पमा नयाँ हवाई रुट प्रस्ताव गरे पनि भारतले आफ्नो भूमिबाट उडान अनुमति नदिंदा नेपाली वायुसेवाले हरेक उडानमा नोक्सान भोग्दै आएका छन्।
पोखरा र भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग पूरा भएका छन्। आन्तरिक सजावट र आवश्यक उपकरण जडान गरेर विमानस्थल ६ महीनामा नै सञ्चालन गर्न सकिने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गर्दैछ।
तर, दुवै विमानस्थलका लागि सहज हवाई रुटको अझै टुंगो लागेको छैन। भैरहवा विमानस्थल निर्माण शुरु भएको ६ वर्ष र पोखराको तीन वर्ष भइसके पनि विमानस्थल सञ्चालन गर्न आवश्यक र सहज हवाई रुट तय गर्ने सरकारको प्रयास अझै सुस्त छ। अन्तर्राष्ट्रिय प्रवेश विन्दु बढाएर हवाई उडान सहज बनाउने विषयमा सरकारी चासो कम हुँदा र कूटनीतिक प्रयासबाट झकझकाउने काम नहुँदा लाभदायक रुट पाउन सकेको छैन।
नेपालमा हवाई यातायातको शुरु भएदेखि नै नेपाल प्रवेश गर्ने एउटै मात्र हवाई मार्ग सिमरा हो। भुटानको पारोबाट आउने वायुसेवालाई मात्र मेची हुँदै आउने सुविधा दिइएको छ। अन्य सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवा सिमराकै हवाई रुट पछ्याउनुको विकल्प छैन। नेपालबाट बाहिरिन भने विराटनगर, भैरहवा, जनकपुर, महेन्द्रनगर, जनकपुरसहितको हवाई रुट प्रयोग हुन्छ। यही रुटको प्रयोग गरेर विमान स्वदेश भित्रिन भने छिमेकी मुलुक भारतको स्वीकृति चाहिन्छ। तर, भारतले आफ्नो भूमिबाट नेपालीसहित अन्य विदेशी वायुसेवालाई उडान अनुमति नदिंदा नेपाली वायुसेवाले हरेक उडानमा घाटा व्यहोर्नुपरेको छ।
नेपाल भित्रिने वायुसेवाको लागि सबैभन्दा उपयुक्त र आवश्यक रुट भैरहवा र नेपालगन्ज हो। यो रुटको लागि भारतले स्वीकृति नदिएका कारण नेपाल आउने वायुसेवाले १६९ नटिकल माइल (१ नटिकल माइलमा १.८५ किलोमिटर) को अतिरिक्त दूरी पार गर्नुपर्छ। यो दूरी पार गर्न एयरबसको ए३२० न्यारोबडी जहाजलाई आधार मान्दा करीब २० मिनेट अतिरिक्त समय खर्चनुपर्ने हुन्छ।
नेपाल भित्रिने वायुसेवाको लागि सबैभन्दा उपयुक्त र आवश्यक रुट भैरहवा र नेपालगन्ज हो। यो रुटको लागि भारतले स्वीकृति नदिएका कारण नेपाल आउने वायुसेवाले १६९ नटिकल माइल (१ नटिकल माइलमा १.८५ किलोमिटर) को अतिरिक्त दूरी पार गर्नुपर्छ। यो दूरी पार गर्न एयरबसको ए३२० न्यारोबडी जहाजलाई आधार मान्दा करीब २० मिनेट अतिरिक्त समय खर्चनुपर्ने हुन्छ। २० मिनेट बढी जहाज उड्नु भनेको न्यारोबडीले औसतमा एक टन (१ किलोलिटर) इन्धन बढी खपत गर्नु हो।
निर्माणाधीन भैरहवा विमानस्थलका लागि नेपालगन्ज र पोखराका लागि भैरहवा प्रवेश विन्दुको हवाई रुट आवश्यक छ। यो रुट प्रयोग गर्न भारतले सैद्धान्तिक रुपमा सहमति दिए पनि व्यावहारिक रुपमा भने अहिलेसम्म अर्घेल्याइँ गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक दीपक बराल बताउँछन्।
उनी भन्छन्, “नेपालले भैरहवा, महेन्द्रनगर, जनकपुुर, विराटनगर, नेपालगन्जसहितको हवाई रुटबाट नेपाल प्रवेश गर्ने अनुमति मागेको थियो, तर अहिलेसम्म भारतले औपचारिक रूपमा कुनै पनि रुटलाई स्वीकृति दिएको छैन।” प्राधिकरणका अनुसार, नेपाल प्रवेश गर्ने हवाई रुटको टुंगो नलाग्दा विमानस्थल तयार भए पनि उडान तथा अवतरणमा नेपाली वायुसेवाको अनावश्यक खर्च बढ्ने सिमरालाई पछ्याउनुपर्ने बाध्यता छ।
कुन रुटमा कति लाभ ?
नेपाल प्रवेश गर्ने वायुसेवाले नेपालगन्जको हवाई रुट प्रयोग गर्न पाए भैरहवा विमानस्थलको लागि १६९ नटिकल माइल र पोखरा विमानस्थलको लागि १६५ नटिकल माइल दूरी कम हुन्छ। काठमाडौं विमानस्थलको लागि पनि १४ नटिकल माइल कम हुने प्राधिकरणले जनाएको छ। नेपालगन्ज प्रवेश विन्दु नेपाल–भारतबीचको क्रस बोर्डर र क्षेत्रीय उडान गन्तव्यको सीधा र सहज रुट पनि हो। यो प्रवेश विन्दुले गौतमबुद्ध, पोखरा र निगजढ विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सहज हुनेछ। सिमरामा बढेको हवाई ट्राफिक पनि यसले कम गर्छ।
यस्तै, पश्चिमबाट आउने वायुसेवाले भैरहवा प्रवेश विन्दु पाउँदा उडान तथा अवतरणका लागि हालको सिमरा नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुन्छ। सिमरा प्रवेश विन्दुको तुलनामा भैरहवाबाट आउन सम्बन्धित वायुसेवालाई १६५ नटिकल माइल बचत हुन्छ। यस्तो दूरी पोखरा विमानस्थलका लागि १०० नटिकल माइल छोटो हुन्छ।
नेपाल प्रवेश गर्ने वायुसेवाले नेपालगन्जको हवाई रुट प्रयोग गर्न पाए भैरहवा विमानस्थलको लागि १६९ नटिकल माइल र पोखरा विमानस्थलको लागि १६५ नटिकल माइल दूरी कम हुन्छ। काठमाडौं विमानस्थलको लागि पनि १४ नटिकल माइल कम हुने प्राधिकरणले जनाएको छ। नेपालगन्ज प्रवेश विन्दु नेपाल–भारतबीचको क्रस बोर्डर र क्षेत्रीय उडान गन्तव्यको सीधा र सहज रुट पनि हो।
हाल काठमाडौंबाट रोमियो ३४५ नम्बरको हवाई रुट प्रयोग गरेर दिल्ली जाँदा नेपाल वायुसेवा निगमको जहाजले ४७६ नटिकल माइलको यात्रा तय गर्नुपर्छ। यो वायुसेवा भैरहवा भएर जाँदा एल ६२६ नामक रुटबाट ४६१ नटिकल माइल तय गरेर जाने गरेको निगमका एक इञ्जिनयर बताउँछन्। निगमका अनुसार, यी दुई रुटमा काठमाडौंको तुलनामा भैरहवाबाट दिल्ली जाँदा ३ मिनेट छिटो पुगिनेछ।
निगमले उडानमा प्रयोग गरिरहेको एयरबसको ए३२० न्यारोबडी जहाज प्रतिघण्टा ४५० देखि ४६५ नटिकल माइलको गतिमा उड्छ। यसको तुलनामा वाइडबडी भने छिटो उड्छ। ए३२० जहाजकै गतिलाई औसतमा निकाल्ने हो भने पनि भैरहवा आउन नेपालगन्ज रुट प्रयोग हुँदा करीब १६ मिनेट बचत हुन्छ। यो समय छोटिनु करीब एक टन इन्धन बचत हुनु हो। निगमको जहाज काठमाडौंबाट दिल्ली जाँदा प्रतिघण्टा तीन टन हवाई इन्धन खपत गरिरहेको छ।
नेपालगन्ज प्रवेश विन्दु नपाएर सिमरा नै प्रयोग गर्नुपर्दा १६ मिनेट बढी समय खर्च हुने गरेको छ, जसबाट औसतमा हरेक उडानमा रु.एक लाख बढी खर्च भइरहेको छ। यस्तो उडान समय पश्चिमबाट प्रवेश गर्ने वायुसेवालाई मात्रै हो, पूर्वबाट प्रवेश गर्नेलाई भने खासै फरक नपर्ने प्राधिकरणको तथ्यांकले देखाउँछ।
प्राधिकरणले नेपाल प्रवेश गर्न भारतसँग मागेका अर्को प्रवेश विन्दुमा महेन्द्रनगर पनि हो। यो हवाई मार्गमा दुई वटा विकल्प पेश गरिएको छ। पहिलो विकल्पमा, यो रुटबाट काठमाडौं प्रवेश गर्दा प्रतिउडान नौ नटिकल माइल छोटो पर्ने, ९५ केजी इन्धन बचत हुने र ३०० केजी कार्बन उत्सर्जन कम हुने उल्लेख छ।
नेपालले मागेको नेपालगन्जबाट काठमाडौं प्रवेश विन्दुमा भारतले सहमति नदिंदा अन्तर्राष्ट्रिय उडानका वायुुसेवालाई प्रतिउडानमै २८ नटिकल माइलको दूरी लामो परिरहेको छ। यो प्रवेश विन्दु खुला हुँदा यसबाट २९४ केजी इन्धन बचत हुने र कार्बन उत्सर्जन पनि ९२९ केजी कम हुनेछ।
नेपालगन्ज प्रवेश विन्दु नपाएर सिमरा नै प्रयोग गर्नुपर्दा १६ मिनेट बढी समय खर्च हुने गरेको छ, जसबाट औसतमा हरेक उडानमा रु.एक लाख बढी खर्च भइरहेको छ।
भारतले दुईतर्फी उडानमै सहमति दिन सकारात्मक भएको जनकपुर र विराटनगर प्रवेश विन्दु पनि हो। यी दुई विन्दु भने नेपालको कम प्राथमिकतामा छ। जनकपुरबाट नेपाल प्रवेश गर्दा वायुसेवालाई जम्मा दुई नटिकल माइल मात्रै बचत हुन्छ। यसबाट २१ केजी इन्धन बचत हुने र ६६ केजी कार्बन उत्सर्जन कम हुन्छ।
जनकपुर नेपाल र भारतबीचको क्रस बोर्डर उडान विन्दु हो। यो रुटबाट नेपाल प्रवेश गर्दा दूरी र इन्धन उल्लेख्य बचत हुने भए पनि प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि भने फाइदाजनक हुने प्राधिकरणका अधिकारी बताउँछन्।
विराटनगर प्रवेश विन्दुलाई अनुमति दिएको अवस्थामा भने भारतको कोलकाता तथा पूूर्वबाट काठमाडौं आउँदा १६ नटिकल माइल दूरी छोटो पर्नेछ। “यस्तो रुट दुईतर्फी रुपमै फाइदा हुने गरी तय गरिएको र पटक पटक छलफल हुँदै आए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ”, प्राधिकरणका एक अधिकारीले भने।