प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान, आजै काठमाडौं फर्कने
प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ प्रस्थान गरेका छन्। सशस्त्र प्रहरीको बीओपी निरीक्षण र विकास निर्माणका कामको अवोकलनका लागि प्रधानमन्त्री ताप्लेजुङ प्रस्थान गरेका हुन्।
उनले ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्नेछन्। यस्तै, नेपाल–चीन सीमा क्षेत्रको निरीक्षण पनि गर्नेछन्। प्रधानमन्त्री ओलीले दुई देशको सीमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टरमार्फत् निरीक्षण गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री ओलीको टोली ओलाचुङ्गोला हुँदै इलाम पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले बताए। प्रधानमन्त्रीले इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गरेर आजै काठमाडौं फर्कने उनले बताए।
प्रधानमन्त्रीको टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि छन्।
प्रधानमन्त्रीले विकास निर्माण लगायत अन्य विषयमा त्यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग पनि छलफल र परामर्श गर्ने कार्यक्रम रहेको बजगाईंले बताए।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीको उपत्यकाबाहिरको यो दोस्रो कार्यक्रम हो। यसअघि २६ कात्तिकमा प्रधानमन्त्री ओली संखुवासभा पुगेर फर्किएका थिए।