लिभरपुल घरेलु मैदानमा ६४ खेलसम्म अपराजित, लेस्टर ३-० ले पराजित
इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलसँग ३-० गोल अन्तरले पराजित भएपछि लेस्टर सिटीले शीर्षस्थान पुग्ने मौका गुमाएको छ।
गए राति भएको खेलमा लेस्टरका जोनी इभान्सले २१औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलले घरेलु मैदानमा अग्रता कायम गरेको थियो। उसका लागि डिओगो जोटाले ४१औँ र रोबेर्टो फर्मिनोले ८६औँ मिनेटमा गोल गरे।
उता घरेलु मैदानमा ६४ खेलसम्म अपराजित रहेर लिभरपुलले नयाँ क्लब कीर्तिमान बनाएको छ। यसअघि घरेलु मैदानमा लगातार ६३ खेलसम्म अपराजित रहेको थियो।
फेब्रुअरी १९७८ देखि जनवरी १९८१ सम्म लिभरपुल घरेलु मैदानमा अपराजित थियो। उसको यो कीर्तिमान लेस्टर सिटीले नै तोडेको थियो। गए राति भने ६३ खेलको अर्को अपराजित यात्रामा लेस्टर बाधक बन्न सकेन।
जितपछि लिभरपुलको नौ खेलबाट २० अंक भएको छ र दोस्रो स्थानमा पुगेको छ। पहिलो स्थानको टोटेनहम हट्स्परको पनि २० अंक नै छ। तर, गोलअन्तरमा टोटेनहम अगाडि छ। लेस्टर भने १८ अंकसहित चौथो स्थानमै सीमित भएको छ।