मिथिलामा अमलाको फेदमा खाना खाने अक्षय नवमी पर्व मनाइँदै
मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ। मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ।
यस पर्वमा अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ। बगैँचा र वन क्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ। आफ्नै आँगन वा खेतबारी बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोज गर्छन्।
यो पर्वमा अनिवार्यरूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा छ। अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खानेकुरा मात्र खाइन्छ। पर्व विशेषले अब चिसो मौसम छिप्पिदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउँछन्।
खासगरी किशोर र युवाहरु वनभोजको रमाइलो लिन आज एकाबिहानै वनक्षेत्रका विभिन्न पार्क र वनभोजस्थल पुगेका छन्। यो पर्वमा दिनभरि भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको महोत्तरीको बलवा बजारका बासिन्दा शिवनारायण झा बताउँछन्।
सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन र नजिकको बगैँचामा भोजको आयोजन गर्ने गरेका देखिन्छ।
मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ। कात्तिक शुक्ल नवमीकै दिन द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश बध गर्नुपूर्व मधुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्व दर्शाउन धातृनवमी भनिएको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलको भनाइ छ।