डिसेम्बरबाटै अमेरिकामा कोरोनाविरुद्धको खोप उपलब्ध हुने संभावना
कोरोनाभाइरस खोपको अमेरिकी कार्यक्रम प्रमुखले ११ डिसेम्बरदेखि अमेरिकी नागरिकले खोप लगाउन पाउने संभावना रहेको बताएका छन्।
अमेरिकी कार्यक्रम प्रमुख डा. मोनसेफ सलोईले सीएनएनसँगको कुराकानीमा खोपलाई स्वीकृति मिलेको २४ घन्टाभित्र खोप केन्द्रहरुमा पु¥याइसक्ने बताएको बीबीसीले जनाएको छ। उनको यो भनाइ अमेरिकामा संक्रमित र मृतकको संख्यामा वृद्धि भइरहेको वेला आएको हो।
जोन हप्किनस विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म एक करोड २० लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। तीमध्ये दुई लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
औषधि कम्पनी फाइजर र उसको सहयोगी बायोएनटेकले शुक्रबार अमेरिकामा आफ्नो खोपको आपतकालीन प्रयोगका लागि आवेदन दिएका छन्। कम्पनीले एउटा विशेष परीक्षणमा ६५ वर्षभन्दा माथिका उमेरका ९४ प्रतिशत मानिसलाई खोपले रक्षा गरेको दाबी गरेको छ।
फाइजरले सन् २०२० मा पाँच करोड खुराक औषधि उत्पादन गर्ने आशा राखेको छ। सन् २०२१ मा १.३ अरब खुराक उत्पादन गर्ने पनि जनाइएको छ। उक्त खोप प्रत्येक व्यक्तिले दुई खुराक लिनुपर्छ।
खोपलाई आधिकारिकता दिन खाद्य एवं औषधि प्रशासन (एफडीए) खोप सल्लाहकार समितिको बैठक ११ डिसेम्बरमा बस्नेवाला छ। डा. सलोईले खोप स्वीकृत भए त्यही दिन या भोलिपल्ट या १२ डिसेम्बरबाट उपलब्ध हुने बताएका छन्।