एम्बुलेन्स थन्किएपछि बिरामी बोक्न डोकोको भर
जाजरकोट सदरमुकाम खलङ्गास्थित अस्पतालको एम्बुलेन्स नेपालगञ्जमा थन्काइएपछि डोकोमा बोकेर बिरामी उपचारका लागि ल्याउने गरिएको छ।
५० शय्याको अस्पतालसँग एउटा मात्र एम्बुलेन्स छ। उक्त एम्बुलेन्स अहिले नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ। दुईवटा टायर र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स ग्यारेजमा लगिएको भए पनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेशकुमार शाहले बताए।
एम्बुलेन्स सञ्चालनमा नरहे पनि चालकले भने नियमित तलब भत्ता खाइरहेका छन्। जिल्लामा भएको रेडक्रसको अर्को एम्बुलेन्स पनि बिग्रिएपछि जाजरकोटमा एउटा पनि एम्बुलेन्स छैन।
जिल्लानै एम्बुलेन्सविहीन हुँदा पनि मर्मत गरी सञ्चालन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान नजानु दुःखद् भएको स्थानीय अगुवा नागरिक बताउँछन्। एम्बुलेन्स नहुँदा स्थानीयले स्ट्रेचर र डोकोको सहारा लिने गरेका छन् भने जिल्लाबाहिर लैजान सार्वजनिक तथा निजी गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ।
रु.१ लाख ५० हजारको अभावमा अस्पतालको एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. सुनिल पुनले जानकारी दिए। यद्यपि अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले उक्त एम्बुलेन्स निकै पुरानो भएको र मर्मत गरे पनि दुर्गममा चलाउन मुस्किल पर्ने भएकाले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयबाट नयाँ एम्बुलेन्स माग्ने प्रक्रिया अघि बढाइएको बताइन्। भेरी नगरपालिकाले एम्बुलेन्स दिने घोषण गरेको वर्ष दिन बिते पनि अझै दिइएको छैन।