पर्सामा नेकपा नेताको हत्या प्रकरणका मुख्य आरोपी अशेसरप्रसाद पक्राउ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण नेकपाको पर्सा, विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्या प्रकरणका मुख्य आरोपी अशेसरप्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका ३८ वर्षीय अखिलेशप्रसाद भनिने अशेसरप्रसाद चौरसिया सोही गाउँपालिका-३ का बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनलाई आइतबार वीरगन्ज-२५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। गत ६ कात्तिकमा चौरसियाको हत्या भएयता अशेसर फरार थिए।
विन्दवासिनी-५ मा पार्टीको शपथग्रहण कार्यक्रमका क्रममा दुई समूहबीच झडप हुँदा चौरसियाको टाउकोमा प्रहार गरिएको भिडिओ सार्वजनिक भएको थियो।त्यसपछि उनको उपचारको क्रममा मृत्यु भएको थियो। घटनाका मुख्य तीन जना आरोपीमध्ये दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो।