रौतहटको दलित बस्तीमा आगलागी हुँदा सात घर जलेर नष्ट
रौतहटको देवाहीगोनाही नगरपालिका ७ को दलित बस्तीमा आगलागी भएको छ। आगलागीबाट पाँच जनाको घर जलेर खरानी भएको छ भने थप दुई जनाको घरमा क्षति पुगेको छ।
गोनाही गाउँको दलितहरूको घर भएको टोलमा आगलागी हुँदा जागरित राम, किरित राम, रामप्रवेश राम, सर्फलाल राम, रामबलि पासवान, रामविश्वास पासवान, प्रमोद महतो घरबार विहीन बन्न पुगेको संघीय साँसद प्रभु साहले जानकारी गराएका छन्।
आगलागीबाट लाखौँको क्षति भएको छ। इलाका प्रहरी कार्यालय देवाहीगोनाहीका प्रहरी निरीक्षक मेदनीप्रसाद साहले आगलागीबाट करिब १३ लाखको क्षति भएको जानकारी गराएका छन्। पाँच जनाको घरमा पूर्ण क्षति र दुई जनाको घरमा आंशिक क्षति भएको प्रनि साहको भनाइ छ।
जाडोको महीना भए पनि कतै घुर नलगाइएकोले आगलागीको कारणबारे थाहा हुन सकेको छैन। विद्युत सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ।
प्रनि साहको नेतृत्वमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका छन्। आगो नियन्त्रणमा आउन लाग्दा दमकल पनि आइपुगेको थियो।
आगलागीबाट घरबारविहीन भएका दलित परिवारलाई अहिले नै समस्या भएको छ। पीडितहरुले तत्काल राहतको माग गरेका छन्। आगलागीको घटनाको छानबिन गरी कारण पत्ता लगाउनु पर्ने र घरबारविहीन भएकालाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्नुका साथै राहतको व्यवस्था हुनुपर्ने स्थानीयको पनि माग रहेको छ।
यसैबिच देवाहीगोनाही नगरपालिकाकी उपप्रमुख परनियादेवी पटेलको अगुवाइमा आगलागीपीडित परिवारलाई १२ बोरा चामल, छ थान कम्बल, छ थान त्रिपाल तथा साडी, गन्जी, लुंगी, गमछा, झुल, तन्नालगायत अत्यावश्यक सहयोग सामग्री प्रदान गरिएको छ।