प्रकाशशरण महत भन्छन्- 'कांग्रेसको महाधिवेशन सर्न सक्छ'
नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको फागुनमा गर्ने भनिएको महाधिवेशन केही समय सर्न सक्ने बताएका छन्। काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संम्बोधन गर्दै उनले कोरोना भाइरसको जोखिमका कारण बन्दाबन्दी हुँदा चारपाँच महीना पार्टीले तयारी गर्न नसकेकाले फागुनमै महाधिवेशन गर्न समस्या देखिएको स्पष्ट पारे।
"अहिलेसम्म क्रियाशील सदस्यता टुङ्गिएको छैन, यो टुङ्ग्याउन माघ महीनासम्म लाग्न सक्छ", डा महतले भने। माघसम्म जिल्लाबाट क्रियाशील सदस्यता टुङ्ग्याएर पठाइएपछि केन्द्रले चैतसम्म छानबिन गरेर टुङ्गो लगाएपछि आगामी भदौ महीनासम्म महाधिवेशन गर्न सकिने उनको भनाइ थियो।
फागुनमै महाधिवेशन गर्न असम्भव रहेको सबै नेताहरूले महसुस गरेको जनाउँदै डा महतले छिट्टै केन्द्रीय समितिको बैठकले महाधिवेशनका लागि नयाँ मिति तय गर्नेसमेत जानकारी दिए।